सहकारीको रु एक खर्ब अठासी अर्ब रकम परिचालन

0 11

काठमाडौँ, १६ पुस । राष्ट्रिय सहकारी सङ्घकोे पछिल्लो तथ्याङ्कअनुसार यस क्षेत्रको सेयर पुँजी रु ६३ अर्ब र बचत रु दुई खर्ब दुई अर्ब रहेकोमा रु एक खर्ब ८८ अर्ब रकम परिचालन भएको बताइएको छ ।

राष्ट्रिय सहकारी विकास सङघ लिमिटेडको २३औँ वार्षिक साधाराण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सङघका अध्यक्ष केशवप्रसाद वडालले सो कुराको जानकारी दिनुभएको हो । सोही अवसरमा अध्यक्ष वडालले हाल नेपालमा प्रारम्भिक सहकारी सस्था ३२ हजार ६६३, जिल्लास्तरीय ३२१, केन्दीय २०, राष्ट्रिय सहकारी बैँक एक तथा अभिभावक निकायका रुपमा राष्ट्रिय सहकारी सङघ रहेका छन् ।

कार्यक्रममा उपप्रधानमन्त्री तथा सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले सहकारी नै आत्मर्निभरको मुख्य पाटो रहेकाले यसको सिद्धान्त र मूल्य मान्यताको आधारमा गुणात्मक विकास गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री केसीले सहकारीनै अर्थतन्त्रको मुख्य आधार भएकाले यसको विकासको लागि सबैको साथ र सहयोगको खाँचो रहेकाले सबै एक भएर लाग्नुपर्ने बताउनुभयो ।

सोही अवसरमा सहकारी मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीले अर्थतन्त्रको सवल विकासको लागि देशैभरी सहकारीको विकास गराउनुपर्नेमा जोड दिँदै सहकारी साँझा संस्था भएकाले यसको प्रयोग व्यक्तिगत स्वार्थको लागि भन्दा सामूहिक कार्यका लागि गरिनुपर्ने बताउनुभयो ।

सोही अवसरमा सङघका वरिष्ठ उपाध्यक्ष मीनराज कँडेलले सहकारी नीति तथा आन्दोलनलाई सफल बनाउन सबैको साथ र सहयोगको आशा गरेको बताउनुभयो । वर्तमान ऊर्जा सङ्कटलाई कम गर्न, त्यसको दीर्घकालीन समाधान गर्न नवीकरणीय ऊर्जाका क्षेत्रमा सहकारी सङघको पहुँच वृद्धि र सहकारीमार्फत जलविद्युत् निर्माणको नीतिगत व्यवस्था गर्नुपर्ने, सरकारले पूर्वाधार नै नपुगी घोषणा गरेका नगरपालिकामा सञ्चालित सहकारी सङ्घ संस्थालाई गाविस सरह पूर्ण कर छुटको व्यवस्था गरिनुपर्ने, यस क्षेत्रको विकास एवम् प्रवद्र्धनको पहल कदमी गर्न पनि प्रतिवेदनमार्फत सरकारको ध्यानाकर्षण गराइएको छ ।