मालपोत कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राही मर्कामा

0 10

बाबियाचौर (म्याग्दी), १६ पुस । म्याग्दीस्थित जिल्ला मालपोत कार्यालयमा दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या उत्पन्न भएको छ ।

सरुवा भएर आउनुपर्ने कर्मचारी नआएको तथा यहाँ दरबन्दी भएका कर्मचारी अन्य जिल्लामा काजमा गएकाले सेवा प्रवाहमा समस्या भएको जिल्ला मालपोत अधिकृत अविनाश कुँवरले बताउनुभयो ।

उहाँका अनुसार विभिन्न तहका २१ जनाको दरबन्दी भएको कार्यालयमा हाल कार्यालय सहयोगीसहित १० जना मात्रै कार्यरत छन् ।

कार्यालयमा पाँचजना नायब सुब्बा, एकजना लेखापाल, दुईजना खरदार, दुईजना कम्प्युटर अपरेटर, एकजना टाइपिस्टको दरबन्दी रिक्त छ । भदौ महिनादेखि कार्यालय लेखापालविहीन छ । कार्यालयमा दरबन्दी भएका तीनजना नायब सुब्बा र दुईजना खरिदार अन्यत्रै काजमा छन् ।

उपल्लो तहको कर्मचारी नभएपछि कार्यालय सहयोगीको भरमा काम गर्नुपरेको नायब सुब्बा विष्णुदत्त शर्माले बताउनुभयो । छजना नायब सुब्बाको दरबन्दी भए पनि अहिले एकजना मात्र छन् । जग्गा रजिस्ट्रेसन, नामसारी, धितो रोक्का, कित्ताकाट र जग्गा घटबढ भएको मिलाउनेलगायतका सेवा प्रवाह गर्न कठिनाइ भएको छ ।

मालपोतमा कर्मचारी नहुँदा दुई घन्टामा हुने कामका लागि तीन दिनसम्म पर्खनुपरेको दग्नामका सेवाग्राही सुविन पुनले गुनासो गर्नुभयो ।

मालपोत कार्यालयमा दैनिक ५० जनाभन्दा धेरै सेवाग्राही आउँछन् । दरबन्दीअनुसारका कर्मचारीको व्यवस्थाका लागि माथिल्लो निकायमा पहल गरे पनि सुनुवाइ नभएको गुनासो मालपोत अधिकृत कुँवरले गर्नुभयो ।