बिनाअनुदानको विकासमा विकट गाउँले सक्रिय

0 5

फलेवास (पर्वत), १६ पुस । राज्यले लगानी गरेका हरेक विकास निर्माण र मानवीय विकासका काम अलपत्र परेका प्रशस्तै उदाहरण देख्न पाइन्छ ।

भएका काम पनि तोकिएको मापदण्ड, गुणस्तर र निर्धारित समयभित्र भएको पाइँदैन । तर पर्वतका विकट गाउँमा क्रियाशील नागरिक सचेतना केन्द्र, वडा नागरिक मञ्च र बाल क्लबहरु बिनाअनुदानको विकासमा सक्रिय हुन थालेका छन् ।

दक्षिण पर्वतका नौवटा गाविसका प्रत्येक वडामा नागरिक सचेतना केन्द्र, वडा नागरिक मञ्च र बाल क्लबले गाउँमा हुने हरेक विकास निर्माण तथा मानव विकासका कार्यक्रमलाई प्रभावकारी बनाउन भूमिका खेल्दै आएका छन् । साथै गाविसमा आउने बजेटको प्रभावकारी कार्यान्वयन गराउनका लागि महिला, दलित, जनजाति, गरिब तथा तल्लो वर्गका नागरिकको उत्थानका लागि पनि सक्रिय हुन थालेका छन् ।

जिविसअन्तर्गत सञ्चालित स्थानीय सुशासन तथा सामुदायिक विकास कार्यक्रम एलजिसिडिपी, सामाजिक परिचालन कार्यक्रमअन्तर्गत गठन भएका नागरिक सचेतना केन्द्र, वडा नागरिक मञ्च र बाल क्लबले जिल्लाको हुवास, त्रिवेणी, बेउलीवास, टकलाक, शालिग्राम, उरामपोखरा, वहाकी, रानीपानी र बर्राचौरमा धेरै परिवर्तनसमेत गरेका छन् ।

गाउँमा वृक्षरोपण, झोलुङ्गे पुल तथा सडक र गोरेटो बाटो मर्मत, नियमित गाउँ तथा सडकको सरसफाइ, खानेपानीका धारा तथा कुँवा मर्मत, प्लास्टिक मुक्त गाउँ, कागज तथा फोहर सङ्कलन, पूर्ण सरसफाइयुक्त वडा घोषणा तथा जुवातास र मदिरा नियन्त्रणजस्ता कार्यक्रममा सक्रियता बढाएको सामाजिक परिचालन कार्यक्रम संयोजक टीकाराम भुसालले जानकारी दिनुभयो ।

गाउँमै उपलब्ध स्थानीय स्रोत र साधनको प्रयोग गरी बैठक कक्ष, समाज घरजस्ता भवन निर्माणसमेत तिनीहरुले गर्न थालेको भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार नौवटा गाविसका ८१ वटै वडामा सामुदायिक भवन तथा समाज घर निर्माण हुन थालेका छन् ।