निस्सासिएर पोखरामा चारजनाको मृत्यु

0 7

पोखरा, १५ पुस । कोठाभित्र धुवाँले निस्सासिएर आज पोखरामा चारजनाको मृत्यु भएको छ ।

पोखरा नगरपालिका वडा नं १४ चाउथे प्रगतिटोलमा बस्ने २६ वर्षीया सीता राना उनका १२ वर्षीय छोरा सीमन्त राना, उनकी बहिनी नाता पर्ने वसन्ती राना र बयोवृद्ध आमा गङ्गाकुमारी थालको मृत्यु भएको हो ।

कास्कीका प्रहरी नायब उपरीक्षक गजुसिद्धि बज्राचार्यका अनुसार रातमा बालेको आगोका कारण कोठामा धुवाँ भरिएर उनीहरूको मृत्यु भएको हो । प्रहरी पुग्दा कोठाभित्र सोफा पनि जलेको अवस्थामा भेटिएको थियो ।

कोठाको झ्यालबाट धुवाँ आएको देखेपछि स्थानीयवासीले प्रहरीमा खबर गरेलगत्तै बिहान ७ः०० बजे घटनास्थलमा पुग्दा उनीहरूलाई मृतअवस्थामा फेला पारिएको बज्राचार्यले जानकारी गराउनुभयो ।