बर्दियामा आर्सेनिकयुक्त पानी पिउन बाध्य

0 8

गुलरिया (बर्दिया), १५ पुस । सबै ठाउँमा खानेपानी आयोजनाका धारा नपुगेका र फिल्टरको अभावले गर्दा बर्दियाका अधिकांश स्थानीय बासिन्दाले आर्सेनिकयुक्त पानी पिउन बाध्य छन् ।

आर्सेनिक पानीमा घुल्ने मन्द विष भएकाले ट्युवेल वा मिटरका माध्यमबाट निस्किएको पानीमा आर्सेनिक मिसिएर आउने गरेको बताइएको छ । बर्दियामा आठ वर्षअघि खानेपानी तथा ढल निकास विभागको प्राविधिक र युनिसेफको आर्थिक सहयोगमा ६० हजार ट्युबेल धाराको परीक्षण गर्दा २६ हजार ट्युवेलमा ५० पिपिबी भन्दा माथिको पानी पाइएको थियो ।

तराईका १० वटा आर्सेनिक प्रभावित जिल्लामध्ये बर्दिया तेस्रो स्थानमा रहेको छ । आर्सेनिक प्रभावित क्षेत्रमा रेडक्रसलगायत विभिन्न सङ्घसंस्थाका सहयोगमा फिल्टर वितरण गरिएको भए पनि अहिले अधिकांश फिल्टर फुटिसकेको स्थानीय बासिन्दाको भनाइ छ । करिब १० वर्षसम्म लगातार यस्तो पानी पिउनाले आर्सेनिक रोगको लक्षण देखापर्ने स्वास्थ्यकर्मी बताउँछन् ।

सुरु–सुरुमा आन्द्रामा खराबी देखिने, बान्ता हुने, हात–खुट्टाका नसामा असर पर्ने, छालासम्बन्धी समस्या देखापर्ने स्वास्थ्यकर्मीले बताएका छन् ।