महोत्तरीमा नेपाल टेलिभिजनको प्रसारण अवरुद्ध

0 6

गौशाला, १४ पुस । महोत्तरी जिल्लामा विगत एक महिनादेखि नेपाल टेलिभिजनको प्रसारण अवरुद्ध रहेको छ ।

समाचारलगायत विभिन्न कार्यक्रमको भरपर्दो र विश्वासिलो माध्यम नेपाल टेलिभिजनको कुनै पनि प्रसारण विगत एक महिनादेखि महोत्तरीबासीले हेर्न पाएका छैनन् ।

तीन नगरपालिका र ६७ गाविस रहेको महोत्तरीको कुनै पनि गाउँ ठाउँमा गत मङ्सिर महिनाको दोस्रो सातादेखि नै नेपाल टेलिभिजनको कार्यक्रम नदेखिएको जिल्लाबासीहरु बताउँछन् । नेपाल टेलिभिजन आउने च्यानल २४सैँ घण्टा अवरुद्ध रहेको छ भने सो च्यानल लगाउनेबित्तिकै टेलिभिजनको पर्दामा केही पनि नआउने र सिट्टी बजे जस्तो आवाज मात्र आउन थालेको छ ।

एक महिना लामो समयदेखि टेलिभिजनको प्रसारण रोकिँदा लाखौँ दर्शक देश दुनियाँको खबरबाट बेखबर रहन बाध्य छन् । उनीहरुले सम्बन्धित निकायसँग तुरुन्तै नेपाल टेलिभिजनको प्रसारणलाई निरन्तरता दिन माग गरेका छन् ।