आठ महिनादेखि गोदाममा थन्किएको राहत सामग्री वितरण

0 5

बाबियाचौर (म्याग्दी), १० पुस । म्याग्दीमा आठ महिनादेखि थन्किएको राहत सामग्री वितरण गर्न थालिएको छ ।

वैशाख १२ गतेको भूकम्प र बर्खायामका पहिरोपीडितलाई वितरणका लागि रुपन्देहीको राहत भण्डारण गृहबाट गत जेठ महिनामा ल्याइएको राहत सामग्री बिहीबारदेखि पीडितलाई वितरण गर्न थालिएको हो ।

समयमै वितरण हुन नसक्दा जिप्रका र जिविसको गोदाममा राखिएको राहतको चामल, दाललगायतका खाद्य सामग्री घुन, चिलेसा र किरा लागेको थियो ।

प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकका अनुसार बिहीबार बाबियाचौर र अर्मन गाविसका भूकम्पपीडित तथा बैसरीका पहिरोपीडितलाई गोदामको राहत सामग्री वितरण गरिएको हो ।

भूकम्पपीडित परिचयपत्र पाएका र पहिरोपीडितलाई एक हप्ताभित्र राहत सामग्री वितरण गरिसक्ने प्रजिअ पाठकले बताउनुभयो । पूर्ण क्षति भएर घरवास गुमाएकालाई राहत सामग्री वितरणमा प्राथमिकता दिइने उहाँले बताउनुभयो ।

बर्खा मौसममा पहिरोपीडितका लागि जगेडा राखिएको राहत सामग्री बर्खा सकिएलगत्तै सुरु भएको नाकाबन्दीले उत्पन्न ढुवानीको समस्या र भूकम्पपीडित परिचयपत्र वितरणमा भएको ढिलाइका कारण वितरण गर्न सकिएको थिएन ।

गोदाममा रहेको ५८ बन्डल त्रिपाल, एक हजार ६९० थान ब्लाङ्केट, १५० थान बेड कभर, ६०० थान कम्बल, ५० केजीको १३ बोरा दाल, १०२ बोरा चामल, सात बोरा नुन, ३९ थान डसना र दुई बोरा चिनी पीडितलाई वितरण गरिने भएको छ ।

म्याग्दीमा भूकम्पबाट दुई सय घर पूर्णरुपमा क्षति भएको र एक हजार ५०० मा आंशिक क्षति पुगेको तथ्याङ्क छ । यसैगरी बैसरी, ओखरबोट, मुनाको दर, मुदीलगायतका ठाउँमा ३०० भन्दा बढी घरधुरी पहिरोपीडित छन् ।