सिंहदरबारदेखि कुपण्डोलसम्म मानव साङ्लो गरिने

0 10

काठमाडौँ, १२ मङ्सिर । ‘नाकाबन्दी, हिंसा र दण्डहीनताको विरोध गरौँ, राष्ट्रिय स्वाधीनताको रक्षा गराँै’ भन्ने नारा साथ मङ्सिर १४ गते सिंहदरबारदेखि युएन पार्क पुल्चोकसम्म मानव साङलो कार्यक्रम गरिने भएको छ ।

‘राष्ट्रिय स्वाधीनता अभियानले मानव साङ्लोमा सहभागिता जनाऔँ भारतीय नाकाबन्दीका विरोध गराँै’ भनेर सो अभियानमा संलग्न हुन सबैलाई आह्वान गरेको छ । दिनको २ देखि ३ बजेसम्म सडकका दुवै किनारामा मानव साङ्लो निर्माण गरिनेछ ।

कवि, लेखक, पत्रकार, बुद्धिजीवी र विद्यार्थी नेताको सहभागितामा राजधानीमा आज आयोजित कार्यक्रममा मुलुकका विद्यमान सबै खाले समस्या वार्ता र संवादबाट परिणाममा पु¥याउन सकिने भएकाले विधिवत् रुपमा संसद्बाट समाधान खोज्न आन्दोलनरत दललाई सुझाव दिइयो ।

मानव अधिकारकर्मी सुवोध प्याकुरेलले नाकाबन्दी मानवता विरोधी कार्य भएकाले त्यसविरुद्ध आयोजना हुने मानव साङ्लोमा सहभागी हुन सबैलाई आग्रह गर्नुभयो ।

मानव साङ्लो निर्माणसँगै अभियानले नाकाबन्दीका कारण नेपालले भोग्नुपरेका समस्याका बारेमा संयुक्त राष्ट्रसङ्घका महासचिवलाई ध्यानाकर्षण गराउन नेपालस्थित राष्ट्रसङ्घीय कार्यालयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको सो अवसरमा जानकारी दिइयो ।