विश्वशान्तिको कामना गर्दै १०८ भागवत कथा

0 8

काठमाडौँ, १२ मङ्सिर । विश्व शान्ति र कल्याणका लागि स्थानीयस्तरबाट सहयोग पु¥याउने उद्देश्यले धोबीखोला किनारको सेतोपुलस्थित रुद्रविनायक मन्दिर परिसरमा श्रीमद्भागवत सप्ताह कथा सुरु भएको छ ।

विश्वशान्ति अभियान नेपालको आयोजनामा शुक्रबारबाट सुरु गरिएको कथा मङ्सिर १९ गतेसम्म सञ्चालन हुनेछ । “आनन्द, सुख र शान्तिका लागि भागवतसँगै योग,” भन्ने मूल नाराका साथ स्थापना भएको अभियानले विश्वशान्तिको कामनाका लागि १०८ स्थानमा गर्ने भागवत कथामध्ये यो दोस्रो भएको अध्यक्ष भागवतकिङ्कर मुरलीधर पोखरेलले बताउनुभयो ।

“विश्वशान्ति स्थापनाका लागि व्यक्तिबाट सुरु गरिनुपर्छ र त्यसको पहिलो लक्ष्य स्थानीयस्तर हुनुपर्छ, यही मान्यताका आधारमा १०८ भागवत आध्यात्मिक जागरणबाट भौतिक समुन्नतिका लागि यो अभियान चलाइएको हो,”उहाँले भन्नुभयो ।

अभियानको पहिलो कार्यक्रम बुढानीलकण्ठ नगरपालिकाको कपनस्थित नेपाल चार्टर प्राथमिक विद्यालयको सहयोगार्थ कथा वाचन गरेर सुरु गरिएको थियो ।

यज्ञमा वातावरण शुद्धिको कामनाले दैनिक हवन गरिनेछ ।

कथा कार्यक्रमको आज उद्घाटन गर्दै पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टन्डनले विश्वशान्ति र कल्याण स्थापनाका लागि प्रत्येक स्थलमा यस्ता आध्यात्मिक कार्यक्रम गरिनु पर्ने धारणा राख्नु भयो ।

अध्यक्ष पोखरेलले नै कथावाचन गर्नुहुने यज्ञबाट उठेको सहयोगले रुद्रविनायक मन्दिरको भाौतिक संरचना विस्तार गर्ने लक्ष्य राखिएको छ ।