भारतिय नाकावन्दी विरुद्व दक्षिण कोरियामा विशाल प्रदर्शन

0 8

रञ्जन कुँवर- सउल,मंसिर ७ । छिमेकी देश भारतले नेपालमा लागाएको अघोषित नाकावन्दीका विरोधमा दक्षिण कोरियामा रहेका नेपालीहरुले कोरियाको भारतीय दूतावास अगाडि विशाल प्रदर्शन गरेका छन् । गैर आवासीय नेपाली संघ (एनआरएन),सपोट नेपाल फाउण्डेसन,अल नेप्लिज अर्गनाईजेसन एण्ड क्म्युनिटी दक्षिण कोरियाको आयोजनामा नाकावन्दी विरुद्ध विशाल प्रदर्शन गरिएको हो । कोरियामा रहेका क्रियाशील नेपालीहरुको विभिन्न संघ संस्थाहरुको सहभागिता रहेको थियो ।

नेपाली पोशाकमा जम्मा भएका नेपालीहरुले सउल स्टेशनबाट हाननामस्थित इण्डियन एम्बेस्सीसम्म विशाल र्याली निकाल्दै भारतिय दुतावास अगाडि जम्मा भएर प्रदर्शन गरेका थिए । उनिरूले भारतीय रवैया विरूद्ध नारा र प्लेकार्ड सहित प्रदर्शन गरेका हुन्। यो कोरियामा रहेका नेपालीहरुको अहिलेसम्मकै ठूलो प्रदर्शन हो । दूतावास अगाडि केही बेर प्रदर्शन गरेका सयौँ नेपालीले दूतावासमा नाकाबन्दी तत्काल हटाउन आग्रह गर्दै ज्ञापनपत्र बुझाउन पुगेका थिए । नेपाली विरोध जुलुससहित भारतीय दूतावास रहेको हाननाममा पुगेर ज्ञापनपत्र बुझाउन खोज्दा दूतावासका कर्मचारीले ज्ञापन पत्र बुझ्न अस्वीकार गरेका आईसीसी प्रतिनिधी विनोद कुँवरले बताए ।

भारतले नेपालको नयाँ संविधानको विरोध गर्दै असोजको पहिलो सातादेखि पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तु खाध्यान्न र औषधीको आपूर्तीमा भारतले नाकाबन्दी गरेपछि भुपरिवेस्ठित देश नेपालका करिव तीन करोड नेपाली निकै असहज स्थितीमा जीवनयापन गरिरहेका छन् । यसको विरोधमा विदेशमा रहेका नेपालीहरुले प्रदर्शन जारी राखेका छन् । यसअघिन्यूयोर्कस्थित राष्ट्र संघ मुख्यालय, ह्वाइटहाउस, वासिंगटन डीसी, जर्मनी, अष्ट्रेलिया लगायत अन्य देशमा पनि विशाल प्रदर्शन गरी भारतले गरेको नाकाबन्दीको विरोध गरेका थिए ।