रोकिएन तेलको कालोबजारी

0 5

पथरी (मोरङ), २९ कात्तिक । विराटनगरमा प्रतिलिटर रु १२५ मा पाइने सूर्यमुखी तेल रु २२० र तोरीको तेल प्रतिलिटर रु १७० बाट बढाएर रु २३० पु¥याइएको छ ।

बन्द र नाकाबन्दीको कारण देखाउँदै हिन्दुहरुको पर्व तिहार अघिदेखि नै मनोमानी रुपमा साना व्यापारीले सूर्यमुखी र तोरीको तेलको मूल्य लिटरको कम्तीमा रु ७० बढाएका छन् । संयुक्त मधेसी मोर्चाले आह्वान गरेको तीन महिनाको बन्दको बाहना बनाएर विराटनगरमा खाने तेलको कालोबजारी भएपछि मूल्य बढेको उपभोक्ताको भनाइ छ ।

विराटनगर– १० का उपभोक्ता उरुषा कार्कीले पन्ध्र दिन अघिसम्म रु १२५ मा किनेको तेलको प्रतिलिटरमा नै रु ७ं० बढाएको बताउनुभयो । दुगड समूहको नेमुवास्थित स्वस्तिक आयलको सनफ्वालावर, घरेलु ब्रान्डका तेलको मूल्य आकासिएको हो ।

बागमती आयल इन्डिस्ट्रज प्रालिका सञ्चालक तथा सेलो ब्रान्डको तेल उत्पादक देवकी नन्दन अग्रवालले खुद्रा व्यापारीले मूल्य बढाएको हुनसक्ने बताउनुभयो । “हामीले मूल्यमा हेरफेर गरेका छैनौँ खुद्रा व्यापारीबाट फटाही भएको हुनसक्छ” उहाँले भन्नुभयो ।

तेल प्रतिकाटुर्न रु ७०० देखि रु ८०० सम्म बढाइएको छ । तेल खपत बढ्ने चाडवाडका बेला चर्को मूल्य तिरेर उपभोक्ता खरिद गर्न बाध्य भएका छन् । क्रूडआयललाई विभिन्न चरणमा उद्योगबाट प्रशोधन गरेपछि भटमास र सूर्यमुखीको तेल प्याकेटमा प्याक गरेर उद्योगले बिक्री गर्छन्

अढाई महिना भन्दा बढी बन्दको यो अवधिमा पनि सूर्यमुखी तेलको आयात नघटेको विराटनगरको रानी भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । भन्सार कार्यालयका अनुसार बन्दका दुई महिना मध्येको असोजमा उद्योगीले रु १० करोड ६६ लाख मूल्य तिरेर एक हजार २४० मेट्रिक टन क्रुड आयल आयात गरेका छन् ।

जवकी कात्तिकमा रु ६ करोड २० लाख मूल्य बराबरको ७४० मेट्रिक टन क्रुड आयल आयात भएको छ । भदौ महिनामा भने अझ धेरै रु १८ करोड ३८ लाख बराबरको दुई हजार २०० मेट्रिक टन क्रुड यो नाकाबाट आयात भएको थियो ।

सूर्यमुखी र भटमासको तेल निकाल्न प्रशोधन गरिने क्रुड आयल आयात गर्दा अढाई प्रतिशत मात्र भन्सार राजस्व बुझाउनु पर्छ । विराटनगर भन्सार कार्यालयका सूचना अधिकृत राजेन्द्र ढुङ्गानाका अनुसार भदौ र त्यस यताको आयातमा खासै उतार चढाव आएको देखिदैँन ।

सहायक प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बजारमा खाने तेलको मनपरी बिक्री भएको विषयमा बजार अनुगमन गर्ने बताउनुभयो । उहाँले महँगो मूल्य लिएर उपभोक्ताको ढाड सेक्नेलाई कारबाही गर्ने बताउनुभयो । मोरङ, सुनसरी औद्योगिक करिडोरमा पशुपति खाद्य तेल उद्योग, श्रीराम रिफाइनरी, बाबा भेजिटेबल, स्वस्तिक आयल, बागमतीलगायत आधादर्जन भन्दा बढी खाने तेल उद्योग सञ्चालनमा छन् ।