प्रमुख चार राजनीतिक दल र मधेसी मोर्चाबीचको वार्ता जारी

0 6

काठमाडौँ, २९ कात्तिक । मधेस आन्दोलन र संविधान संशोधनको विषयमा केन्द्रित रहेर प्रमुख चार राजनीतिक दल र मधेसी मोर्चाबीचको वार्ता जारी रहेको छ ।

सिंहदरबारस्थित व्यवस्थापिका–संसद् सचिवालय परिसरमा जारी उक्त वार्तामा सत्तारुढ दल नेकपा (एमाले), एनेकपा (माओवादी) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेताहरु सहभागी हुनुहुन्छ ।

वार्तामा मोर्चामा आबद्ध सङ्घीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, तराई मधेस सद्भावना पार्टी र सद्भावना पार्टीका शीर्ष नेताहरु सहभागी हुनुहुन्छ ।

नयाँ सरकार गठन भएपछि मधेसी मोर्चासँग भएको उक्त वार्तामा प्रमुख प्रतिपक्षी दल पहिलोपटक सहभागी भएको हो ।

मधेसमा जारी आन्दोलन र त्यसबाट उत्पन्न सङ्कटका बारेमा छलफल गरी समस्यालाई सम्बोधन गर्नेतर्फ वार्ता केन्द्रित रहनेछ ।

वार्तामा नेपाली काँग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवा, एमालेका वरिष्ठ नेता झलनाथ खनाल र कानुन तथा न्याय मन्त्री अग्नि खरेल, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, राप्रपा नेपालका संसदीय दलका प्रमुख सचेतक दीलनाथ गिरी सहभागी हुनुहुन्छ ।

त्यस्तै मोर्चाका तर्फबाट सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, नेता अशोक राई र राजेन्द्र श्रेष्ठ, तमलोपाका उपाध्यक्ष हृदयेश त्रिपाठी, तराई मधेस सद्भावना पार्टीका महेन्द्र यादव र सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण सहभागी हुनुहुन्छ ।