पिङ्गलास्थान र बालकुमारीमा दाउरा पाइने

0 5

काठमाडौँ, २८ कात्तिक । ग्यासको अभावमा चुलोे बाल्न नपाएका काठमाडौँ उपत्यकावासीका लागि आइतबारदेखि दाउरा बिक्री हुने भएको छ ।

टिम्बर कर्पोरेसनले आइतबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म काठमाडौँको पिङ्गलास्थान र ललितपुरको बालकुमारीस्थित डिपोबाट दाउरा बिक्री गर्न लागेको हो । अब उपभोक्ताले दाउरा प्रतिकिलो रु १५ मा पाउनेछन् ।

बिक्रीका लागि बाराबाट हाल एक लाख १० हजार किलो दाउरा ल्याइएको वन तथा भूसंरक्षण मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो । “चुलो बाल्न नपाएका परिवारका लागि प्राथमिकता दिई दाउरा बिक्री गरिनेछ, उपत्यकामा ग्यास सहज नभएसम्म दाउरा बिक्रीलाई निरन्तरता दिइनेछ, हाललाई दाउरा प्रतिकिलो रु १५ निर्धारण गरिएको छ”–उहाँले भन्नुभयो ।


उपत्यकामा ग्यास सहज हुन नसकेपछि वनमन्त्री अग्निप्रसाद सापकोटाले मङ्गलबार बाराका वनबाट दाउरा ल्याई बिक्री गर्न निर्देशन दिनुभएको थियो । पहिलो चरणमा बाराबाट २०० ट्रक दाउरा ल्याइएको छ ।

ती दाउरा बिक्री गरिसकेपछि नवलपरासीबाट थप दाउरा ल्याई बिक्री गरिने टिसिएनले जनाएको छ ।