नाकाबन्दीले गुल्मीमा पनि औषधि अभाव

0 9

तम्घास (गुल्मी), २५ कात्तिक । भारतीय नाकाबन्दीका कारण गुल्मीमा औषधिको अभाव देखिन थालेको छ ।

जनस्वाथ्य कार्यालय प्रमुख रामचन्द्र पाठकका अनुसार जिल्लामा जम्मा १० प्रकारका औषधिमात्र केही मात्रामा रहेको छ । जिल्लाका विभिन्न स्थानमा रहेका स्वाथ्य चौकीमा समेत औषधिको मौज्दात रहेको छैन ।

जिल्ला अस्पताल तम्घासका चिकित्सक दीपा श्रेष्ठले नाकाबन्दीले गर्दा थुप्रै औषधिको अभाव भएको बताउनुभयो । “जिल्ला अस्पतालमा पाइने सबै प्रकारका औषधि त छँदै छैनन्,”–उहाँले भन्नुभयो, “आकस्मिक सेवाका औषधिको समेत अभाव देखिएको छ ।” उहाँले अहिले दुखाइ कम गर्ने सामान्य औषधिसहित अन्य औषधि अभाव भएको बताउनुभयो ।

गाउँबाट सिफारिस भएर आउने बिरामी जिल्लामा पनि औषधि नभएपछि पाल्पा तथा बुटवल पठाउने गरिएको उहाँको भनाइ थियो ।

प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले बुटवलमा रहेको भण्डारणमा पनि औषधि नभएपछि बाराका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीसँग समन्वय गरी औषधि ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले केन्द्रीय औषधि भण्डारण पथलैयाबाट बाँकी औषधि ल्याउन जिल्लाका सुरक्षाकर्मीसहितको टोली पुगिसकेको बताउनुभयो ।