स्वाभिमानले उठेको नेपालको शिर झुक्नुहुन्नः नेता पोखरेल

0 11

काठमाडौँ, २५ कात्तिक । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले चाडबाडलाई सामाजिक सम्बन्धलाई सुदृढ बनाउने सूत्रका रुपमा उपयोग गरी राष्ट्रिय एकता र स्वाभिमानलाई मजबुत बनाइनुपर्ने बताउनुभएको छ ।

पार्टीको भोजपुर–काठमाडौँ सम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईलाई बधाई तथा सम्मान एवम् देउसी भैलो कार्यक्रमलाई सम्बोधन गर्दै नेता पोखरेलले सो कुरा बताउनुभएको हो ।

“स्वाभिमानले उठेको नेपालको शिर झुक्नुहुन्न, प्रतिकूलतासँग जुधेर पनि स्वाभिमानमा ठेस पु¥याउनुहुन्न, यसका लागि आत्मनिर्भर हुनुपर्छ, आत्मनिर्भर नभई स्वाभिमान बचाउन सकिँदैन”–उहाँले भन्नुभयो । पोखरेलले भन्नुभयो “यो छिमेकीले बेला बेलामा हेप्ने गर्छ, कहिले नुन त कहिले व्यापार सन्धि नवीकरणका नाममा अप्ठ्यारो पार्ने गर्छ ।”

छिमेकीका अनुचित व्यवहारलाई केहीले लम्पसार पर्ने र केहीले क्षणिक उत्तेजनामा आई प्रतिक्रिया दिने तर समस्या समाधान गरी आत्मनिर्भरतामा आउने कदम नचालेकाले अहिले जटिल अवस्था आएको उहाँले बताउनुभयो । उत्तरसँग जोडिएका सातवटा सीमा नाका सधैँ चल्ने गरी खोलेको भए अहिले समस्या नआउने पनि उहाँको कथन थियो ।

सम्मानित व्यक्तित्व मन्त्री राईले युवालाई विश्वास र भरोसा गर्ने समय आएको बताउनुभयो । “संविधानमा नसमेटिएका विषयका सन्दर्भमा आएका गुनासालाई सकारात्मक रुपमा लिन्छौँ, तर संविधान कार्यान्वयन हुन नदिने र एकतामा आँच आउने गतिविधिलाई निर्ममतापूर्वक प्रस्तुत भई सरकारले प्रहार गर्छ”–उहाँले भन्नुभयो ।

तराई मधेस केन्द्रित समस्या राष्ट्रिय स्वाधीनताको जगबाट समाधान गरी चाडपर्व राम्ररी मनाउने वातावरण बनाउन सरकार लागिपरेको उहाँको भनाइ थियो ।

कार्यक्रममा सम्पर्क मन्चका अध्यक्ष पारुहाङ राई र सल्लाहकार समितिका अध्यक्ष देविप्रसाद घिमिरेले पनि बोल्नुभएको थियो ।