मधेसको समस्या चाँडै समाधान हुन्छ – महासचिव महरा

0 8

फलेवास (पर्वत), २५ कात्तिक । एकीकृत नेकपा (माओवादी) का महासचिव कृष्णबहादुर महराले भारतले नेपालको प्राकृतिक स्रोतमा कब्जा जमाउनका लागि नाकाबन्दी लगाएको आरोप लगाउनुभएको छ ।

एमाओवादी पर्वतले आज कुस्मा बजारमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले नेपालको जलस्रोत र अन्य प्राकृतिक सम्पदामा आफ्नो हैकम स्थापित गर्न नाकाबन्दी लगाएको आरोप लगाउनुभयो ।

भारतले लामो समयदेखि नेपालको जलस्रोतमा आँखा लगाउँदै आएको र त्यसलाई सहज ढङ्गले आफ्नो हितअनुकूल उपयोग गर्न प्रदेशको सीमाङ्कनमा समेत आफ्नो चासो देखाएको उहाँको भनाइ थियो ।

महासचिव महराले मधेसमा चलेको आन्दोलनका जायज मागका बारेमा दुई तीन दिनमा नै सहमति कायम गर्ने तथा तराईमा आन्दोलनरत दलसँग सहमति खोज्ने प्रयत्न भइरहेको बताउनुभयो ।

नेपालको संविधान दुनियाँको संविधानभन्दा धेरै प्रगतिशील भएको बताउँदै यसले जनयुद्धलाई राजनीतिकरण गरेको र मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको ढाँचामा परिवर्तन गर्नु ठूलो उपलब्धि भएको बताउनुभयो ।