अझै खुलेन तातोपानी नाका

0 10
 

वराज पुरी |२०७२ कार्तिक २५ बुधवार214 पटक पढिएको

व्यवसायी र उपभोक्ता मारमा
सिन्धुपाल्चोक: नेपाल-चीन भन्सार विभागस्तरीय बैठकबाट तातोपानी नाका छिटै सुचारु गर्ने सहमति भए पनि अझै खुल्न सकेको छैन।
नाका सञ्चालनमा आउन नसकेपछि व्यवसायी र उपभोक्ता मारमा परेका छन्। दुवैतर्फका सरकारी निकायको चासो नदिँदा नेपाल-चीन व्यापारको छोटो दूरीको तातोपानी नाका कहिले सञ्चालनमा आउने भन्ने अन्योल बढेको हो।
भारतले गरेको अघोषित नाकाबन्दीका कारण इन्धनलगायत दैनिक उपभोग्य सामग्रीको अभाव झेलिरहेका उपभोक्ता चीनसँगको नाका सञ्चालन नहुँदा थप कष्ट भोगिरहेका छन्। यो नाका नखुल्दा जाडो मौसमको कपडा र विद्युतीय सामग्रीको समेत अभाव हुन थालेको व्यापारी र उपभोक्ता बताउँछन्।
भूकम्पपछि बन्द भएको रसुवागढी नाका सञ्चालनमा आइसके पनि तातोपानी नाका सञ्चालनमा नआउनमा कुटनीतिक पहलको कमी भएको अनुमान गरिएको छ। भौगोलिक अवस्था र दूरीका आधारमा नेपाल चीन व्यापारमा सबैभन्दा उपयुक्त तातोपानी नाका मानिन्छ।
रेलमार्गसँग जोडिएको चीनको सिगात्सेबाट तातोपानी नाका चार सय ९१ किलोमिटरको दूरीमा छ। काठमाडौं पुग्दा सिगात्सेबाट तातोपानी नाका हुँदैछ सय छ किलोमिटर मात्र पार गर्नुपर्छ।
दुवैतर्फका सरकारी निकायको चासो नदिँदा नेपाल-चीन व्यापारको छोटो दूरीको तातोपानी नाका कहिले सञ्चालनमा आउने भन्ने अन्योल बढेको छ।
अहिले सञ्चालनमा रहेको रसुवागढी नाका हुँदै सिगात्सेबाट काठमाडौं पुग्न एक सय ७० किलोमिटर बढी अर्थात सात सय ७६ किलोमिटर दूरी पार गर्नुपर्छ।
सरकारले प्राथमिकता नदिँदा सबैभन्दा छोटो दूरीको उत्तरी नाका छ महिनादेखि ठप्प भएको व्यवसायी बताउँछन्।
तातोपानी नाकाबाट व्यवसाय सुचारु नहुँदा नेपाली बजारमा मध्यमवर्गीय उपभोक्ताको रोजाइमा पर्ने जाडो मौसमका लत्ता कपडा र विद्युतीय सामग्रीको अभाव हुन थालेको छ।अरनिको राजमार्गमा रहेका सबै अवरोध हटाएर यातायातका साधन सहजरूपमा सीमा क्षेत्रमा पुग्न सक्ने अवस्था सिर्जना भएको एक महिना हुँदा पनि नाकाबाट व्यापार सुचारु हुन सकेको छैन।
भूकम्पपछि सिगात्से सारिएको चीनतर्फको भन्सारलगायत सरकारी कार्यालय खासामा पुर्नस्थापित नगरिएकाले तातोपानी नाका सुचारु हुन नसकेको तातोपानी भन्सार कार्यालका प्रमुख दिव्यराज पोखरेल बताउँछन्। दसैं अघि नै पोखरेल नेतृत्व टोलीले तातोपानी भन्सार कार्यालय औपचारिक रूपमै सञ्चालनमा ल्याइसकेका छन्।
‘खासा भन्सार सञ्चालन हुने हो भने व्यवसाय सञ्चालन गर्न कुनै समस्या छैन’, प्रमुख पोखरेलले भने, ‘हाम्रो तर्फबाट सबै तयारी पूरा भइसकेको छ।’सरकारले कुटनीतिक पहल नगरेका कारण तातोपानी नाका सञ्चालनमा ढिलाइ भएको व्यवसायी बुद्धराज बस्नेतले बताए।
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका मानार्थ उपाध्यक्ष दोर्जे लामा पनि सरकारले पहल गरे मात्र तातोपानी नाका छिटै सुचारु हुन सक्ने बताउँछन्।