नेपालभन्दा माथि अर्काे पहिचान हुँदैन

0 2

काठमाडौँ, २४ कात्तिक । उपप्रधानमन्त्री एवम् महिला तथा बालबालिका मन्त्री सिपी मैनालीले मधेस केन्द्रित दलको तराई आन्दोलन घरेलु समस्या भएको जानकारी दिनुभयो ।

‘मुलुकको वर्तमान सङ्कट र समाधान’ राष्ट्रिय बहसलाई आज राजधानीमा सम्बोधन गर्दै उहाँले घरेलु समस्या घरभित्रबाट समाधान गर्न सरकार कटिबद्ध रहेको बताउनुभयो ।

नेपाल मानव अधिकार सङ्गठनले आयोजना गरेको उक्त कार्यक्रममा उपप्रधानमन्त्री मैनालीले घरभित्रको समस्या समाधान गर्न अन्य बाह्य शक्तिको सुझाव र सहयोगको कुनै आवश्यकतासमेत नरहेको स्पष्ट गर्नुभयो ।

मन्त्री मैनालीले आन्दोलनरत मधेसी मोर्चाले समस्यालाई संसद्बाट समाधान खोजेकामा स्वागत गर्दै मुलुकलाई केन्द्रबिन्दुमा राखेर समस्या खोज्दा समस्या समाधानमा ढुक्क हुन मोर्चालाई आग्रह गर्नुभयो ।

उहाँले प्रतिपक्ष, सत्तापक्ष दलका उच्चस्तरीय समितिको गठन गरी मागभन्दा समस्यामा केन्द्रीकृत भई घनिभूत छलफल गरी समस्या समाधान खोज्नुपर्ने धारण राख्नुभयो ।

कार्यक्रम नेपालका पूर्व सभामुख, मन्त्रीहरु, विभिन्न पार्टीका नेता तथा कूटनीतिक नियोगका पूर्व प्रमुखहरुको सुझाव सङ्कलन गरी समस्या समाधानमा सहयोग पु¥याउने अभिप्रायबाट आयोजना गरिएको हो ।

समारोहमा पूर्व सभामुख सुवास नेम्बाङले सबैभन्दा ठूलो पहिचान त्यो देशको राष्ट्र भएको उल्लेख गर्दै राष्ट्रलाई सर्वोपरि हितमा राखी अन्य माग क्रमशः संविधान संशोधनबाट समाधान गर्न सकिने जानकारी दिनुभयो ।

पूर्व उपप्रधानमन्त्री तथा वर्तमान सत्तारुढ दलका नेता नारायणकाजी श्रेष्ठले मधेसी मोर्चाले उठाएका जाहेज माग संविधान संशोधनमार्फत समाधान गर्न सरकार लागि परेको बताउँदै मुलुकको आन्तरिक समस्यामा अन्य कुनै शक्तिलाई गुहारेर बहस गर्नु राष्ट्रको हित नहुने बताउनुभयो ।

पूर्व मन्त्री तथा तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का उपाध्यक्ष हृदेयश त्रिपाठीले तराई आन्दोलन सम्पूर्ण नेपालीको अपनत्व बोध गराउन गरिएको बताउँदै सरकार मधेस आन्दोलनमा गम्भीर नभएको आरोप लगाउनुभयो ।

तराई मधेसमा मधेसी मोर्चाले मधेसी तथा थरुहट, आदिवासी, मुस्लिम, मधेसी महिलाको अधिकारको सुनिश्चितता, जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र, मधेसमा दुई प्रदेश र सीमाङ्कनका आधारमा प्रदेश निर्माण हुनुपर्ने माग गर्दै साउन १ गतेदेखि नेपाल भारत सिमानामा आन्दोलन गर्दै आइरहेका छन् ।

आजसम्म मधेसी मोर्चाले तराईमा आन्दोलन सञ्चालन गरेको ८५ दिन पुगेको छ । आन्दोलनमा ४८ जनाले ज्यान गुमाएका छन् भने झन्डै ६०० आन्दोलनकर्ता घाइते भई उपचारको क्रममा रहेको मधेसी मोर्चाका अर्का नेता लक्षमण लाल कर्णले जानकारी दिनुभयो ।

आयोजित कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री पशुपतिशम्सेर राणाले मधेसीका उचित मागलाई आन्तरिक समस्याबाटै समाधान गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै, पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता महेश आचार्यले समानुपातिक, समावेशी, प्रतिनिधित्वका आधारमा नेपाली काँग्रेसले संसद्मा दर्ता गरेको संविधान संशोधन प्रस्ताव सहभागितामूलक तवरले राज्यका विभिन्न अङ्गमा समावेश गर्न सरकारले पहल गर्नुपर्ने धारण राख्नुभएको थियो ।

पूर्वमन्त्री लालबाबु पण्डितले नेपालभन्दा माथि कुनै जात र धर्म हुँदैन भन्नुहँुदै एक नेपालीले अर्का नेपालीको विश्वास गर्नुपर्ने र घरेलु समस्या समाधानका लागि अरुको बुइ नचढौँ भन्नुभयो ।

कार्यक्रममा भारत र चीनका लागि पूर्व नेपाली राजदूत भेषबहादुर थापा र राजेश्वर आचार्यले कूटनीतिमा निरन्तर संवादको जरुरी हुने बताउँदै समस्या आउँदैमा आत्तिने र समाधानको नजिक पुग्दैमा मातिने होइन भन्नुभयो ।

You might also like More from author