पार्टी सङ्गठनलाई प्रभावकारी बनाउनुपर्ने– महामन्त्री सिटौला

0 10

 

विराटनगर, २४ कात्तिक । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले नेपाली काँग्रेसमाथि विगतभन्दा बढी चुनौती थपिएकाले पार्टी सङ्गठनलाई अझ प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ ।

नेपाली काँग्रेस मोरङद्वारा आज विराटनगरस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उहाँले व्यक्तिगत स्वार्थले मुलुकको विकास हुन नसक्ने भएकाले सबैलाई राष्ट्रिय हितमा केन्द्रित हुनुपर्ने विषयमा जोड दिनुभयो ।

एक वर्षभित्र संविधान जारी गर्ने घोषणाअनुरुप नै संविधान निर्माण हुनु खुसीको विषय हो भन्दै महामन्त्री सिटौलाले संविधानले समाज र राष्ट्रलाई गति दिने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले मधेसी मोर्चाले गरेको बन्द र माग के हो ? स्पष्ट नभएको भन्दै सडक आन्दोलन बन्द गरी संसद्बाट नै आफ्ना माग राख्न आग्रह गर्नुभयो ।

नेपाली काँग्रेस मोरङका सभापति एवम् सांसद अमृत अर्यालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सांसदहरु भुटुनीदेवी खवास, दिलीप सापकोटा, पार्टी कोषाध्यक्ष नागेश कोइराला, पार्टी क्षेत्रीय सभापति नागेश्वरप्रसाद सिंहलगायतले बोल्नुभएको थियो ।