सभामुखसँग पाकिस्तानी र अष्ट्रेलियाली राजदूतद्वारा बेग्लाबेग्लै भेटवार्ता

0 5

काठमाडौँ, १८ कात्तिक । सभामुख ओनसरी घर्तीसँग नेपालका लागि पाकिस्तान र अष्ट्रेलियाका राजदूतले आज अपराह्न उहाँकै कार्यकक्षमा बेग्लाबेग्लै भेटवार्ता गर्नुभयो ।

त्यस अवसरमा अष्ट्रेलियाका राजदूत ग्लेन ह्वाइट र पाकिस्तानी राजदूत अर्सद सउद खोसाले सभामुखलाई भेटेर आफ्ना मुलुक र नेपालबीचको सम्बन्धबारे विचारविमर्श गर्नुभएको थियो ।

श्रीमती ओनसरी सभामुखमा निर्वाचित हुनुभएकामा दुवै देशका राजदूतले बधाई ज्ञापन गर्दै नेपालको संसदीय विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको संसद् सचिवालयले जनाएको छ ।

उहाँहरूले नेपालको संसदीय अभ्यासका बारेमा अध्ययन गर्न दुवै मुलुकका उच्च अधिकारी इच्छुक रहेका र भ्रमण आदानप्रदान पनि उत्तिकै जरुरी भएको अभिव्यक्ति दिनुभएको थियो ।

सभामुखले नेपालको सामाजिक एवम् आर्थिक विकासमा दुवै मुलुकले गरेको सहयोगको सराह्रना गर्दै भविष्यमा पनि पारस्परिक सहयोग अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो । भूकम्पका बेला दुवै देशले गरेको सहयोगप्रति पनि सभामुखले हार्दिक आभार व्यक्त गर्नुभयो ।