रु चौबिस करोडका भेडाच्याङग्रा निर्यात

0 18

 

मुस्ताङ, ११ कात्तिक । नेपालीको महान पर्व दसैँमा हिमाली जिल्ला मुस्ताङबाट रु २४ करोड भन्दा बढीको भेडाच्याङग्रा निर्यात भएको छ ।

उपल्लो मुस्ताङको विभिन्न ६ गाविसबाट दसैँ अवधिमा १५ हजार ३०८ वटा भेडाच्याङग्रा निर्यात भएको पशुसेवा कार्यालयले जनाएको छ ।

ती भेडाच्याङग्राबाट यहाँका किसानले रु २४ करोड २२ लाख ३६ हजार आम्दानी गरेको पशु सेवा कार्यालयका प्राविधिक फलेन्द्र थकालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, निर्यात भएको भेडाच्याङग्रा मध्ये ९ हजार भेडा र ६ हजार ३०८ वटा च्याङग्रा रहेका छन् । किसानले खोरबाटै व्यापारीलाई प्रति भेडा रु १५ हजार र प्रति च्याङग्रालाई रु १७ हजारमा बिक्री गरेका थिए ।

भेडाबाट रु १३ करोड ५० लाख र च्याङग्राबाट रु १० करोड ७२ लाख ३६ हजार आम्दानी भएको प्राविधिक थकालीले जानकारी दिनुभयो । व्यापारीले बजारमा भने प्रति भेडालाई कम्तीमा रु २० हजार र च्याङग्रालाई रु २३ हजार सम्ममा बिक्री गरेका थिए ।

मुस्ताङबाट ७०० भेडाच्याङग्रा नेपाल खाद्य संस्थानले काठमाडौँसम्म पु¥याएका थियो । काठमाडाँै, पोखरा, म्याग्दी, पर्वत र बाग्लुङलगायतका जिल्लामा मुस्ताङबाट भेडाच्याङग्रा निर्यात भएको पशुसेवा कार्यालयले जनाएको छ ।

उपल्लो मुस्ताङको लोमान्थाङ, छोसेर, छोण्हुप, घमी, सुर्खाङलगायतका गाविसलाई भेडापालनका लागि पकेट क्षेत्र मानिन्छ ।

त्यहाँ तयार पारिएका भेडाच्याङग्रा दसैँ याममा बजारमा ल्याउने गरिन्छ । मुस्ताङमा भेडा कम र च्याङग्रा बढी पाल्ने परम्परा छ ।