अधिवक्ता शर्माको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त

October 28 2015 10:35

काठमाडौँ, ११ कात्तिक । वरिष्ठ अधिवक्ता गणेशराज शर्माको निधनप्रति नेपाली काँग्रेसले आज एक विज्ञप्ति निकालेर दुःख व्यक्त गरेको छ ।

वरिष्ठ अधिवक्ता शर्माको मङ्गलवार काठमाडौँमा निधन भएको थियो । काँग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालासँग निकटमा रहनु भएका शर्माको निधनले नेपालको कानूनी क्षेत्रमा अपूरणीय क्षति पुगेको काँग्रेसले जनाएको छ ।

“संवैधानिक कानूनका ज्ञाता स्वर्गीय शर्मा राज्य विप्लवसम्बन्धी मुद्दामा कोइरालालाई फाँसीको सजायबाट जोगाउन सफल हुनु भएको थियो । कोइरालाको महत्वपूर्ण दस्तावेजका रुपमा रहेको ‘जेल जर्नल’ र ‘आत्मवृत्तान्त’ प्रकाशित गरेर स्वर्गीय शर्माले नेपालको राजनीतिक इतिहासका बारेमा अझ बढी जान्ने अवसर प्रदान गर्नु भएको थियो,” विज्ञप्तिमा उल्लेख छ ।

शर्माको दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति काँग्रेसले समवेदना प्रकट गरेको पार्टी कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारीद्वारा जारी विज्ञप्तिमा जनाईएको छ ।

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top