जलविद्युत आयोजनाको निर्माण अनिश्चित

0 11

पोखरा, ११ कात्तिक । कास्कीको सिल्दुजुरे गाविस–९ बाहुन डाँडामा निर्माणाधीन अपरमादी जलविद्युत् आयोजनाको निर्माण कार्य अनिश्चित बनेको छ ।

दुई महीना अघि मधेस आन्दोलन र भारतले लगाएको नाकाबन्दीको लगत्तैदेखि इन्धन अभाव र विदेशबाट झिकाइएको उपकरण ल्याउन नसक्दा आयोजनाको निर्माण अनिश्चित बनेको हो ।

करीव ७० प्रतिशत निर्माणकार्य सकिएको सो आयोजनाको काम यही वर्षको चैत्र महीनाभित्र सकेर आयोजनाबाट उत्पादित विद्युत् वितरण गर्ने लक्ष रहेको थियो ।

आयोजना प्रमुख रामराज कोइरालाका अनुसार आयोजनाको चार हजार २०० मिटर सुरुङ्ग खन्ने काम सकिएको छ । आयोजनालाई आवश्यक पर्ने उपकरण भारतीय सीमामा नै रोकिएका छन् ।

निर्माण कार्य बन्द भएपछि सबै कर्मचारी र कामदार घर फर्केका छन् । आयोजनाका सबै काम सञ्चालन गर्न दैनिक १० हजार लिटर इन्धन आवश्यक पर्ने गरेको कोइरालाले जानकारी दिनुभयो ।

मादी खोलाबाट निकालिने २५ मेगावाट क्षमताको सो जलविद्युत् आयोजना विसं २०६९ पुस महीनाबाट सुरु गरिएको थियो । अनुमानित लागत करिब रु पाँच अर्ब २८ करोड बराबरको रकम स्वदेशी तथा वैदेशिक सहयोग जुटाई उक्त आयोजना सुरु गरिएको थियो ।

कूल लागतमध्ये आयोजनाका कार्यकारी अध्यक्ष विजय मल्लको २० प्रतिशत र ‘चाईना थ्री गर्जेज कर्पोरेशन’को ८० प्रतिशतको सहयोगमा आयोजना सुरु गरिएको थियो ।