उपभोग्य वस्तुको मुल्य आकासियो

0 14

भोजपुर, ११ कात्तिक । भारतीय पक्षको अघोषित नाकाबन्दी र दसैँ तिहारले गर्दा भोजपुरमा दैनिक उपभोग्य वस्तुकोे मुल्य आकासिएको छ ।

नाकाबन्दी र बन्दको कारण ढुवानी गर्न समस्या देखाउँदै व्यापारीले मनपरी मूल्य बढाएकोे सर्वसाधारणले आरोप लगाएका छन् ।

मुल्यबृद्धिका कारण यसअघि प्रतिलिटर रु १७० मा पाइने तोरीको तेल अहिले रु २५० देखि रु २५० सम्म पर्दै आएको छ । रु १३० प्रतिलिटर पर्ने रिफाइन तेल पनि बढेर रु १६० भन्दा माथि पुगेको छ ।

त्यस्तै, प्रतिकिलो रु ८० पर्ने चिनीको मूल्य रु १०० सम्म पुगेको छ । जुस, मदिरा तथा अन्य पेयपदार्थको पनि मूल्य वृद्धि भएको छ ।

सदरमुकाममा दसैँ तिहारका लागि किनमेल गर्न आएका आम्तेक गाविसका ओमकुमार खुलालका अनुसार व्यापारीले नाकाबन्दीको दाउ छोप्दै चामल, दाल, साबुन, चिउरा लगायतका दैनिक उपभोग्य खाद्यपदार्थमा मूल्यवृद्धि गरेका हुन् ।

यता चार महिनाका लागि व्यापारीले ल्याएको सामान सकिएको र थप सामान ल्याउन कठिनाई भएका कारण अभाव सिर्जना भएको सदरमुकामका व्यापारीहरुको भनाइ छ ।

वर्षाका कारण उपभोग्य वस्तु ल्याउन नसकिएका बेला भारतीय नाकाबन्दीसँगै सर्वसाधारण मारमा परेको उद्योग वाणिज्य सङ्घ भोजपुरका अध्यक्ष डम्बर श्रेष्ठले बताउनुभयो ।

व्यापारीले मनपरी मूल्यवृद्धि नगरेको उहाँको भनाइ छ । “हामीले अनुगमन गरिरहेका छौँ,” उहाँले भन्नुभयो ।

अघोषित नाकाबन्दीकै कारण एक महिनायता सर्वसाधारणले ग्यास पाउन सकेका छैनन् । पेट्रोल, डिजेल, मट्टितेललगायतको चर्को अभाव छ । पेट्रोल अभावमा निकै कम मात्र मोटरसाइकल गुड्ने गरेका छन् ।

ग्यास नपाउँदा सदरमुकाममा डेरा गरी बस्ने विद्यार्थी र सर्वसाधारण बढी मारमा परेका छन् ।