सत्तारुढ दलका सांसद्को बैठक ः भण्डारीलाई मतदान गर्ने

0 43

काठमाडौँ ११ कातिक । सत्तारूढ दलका सांसद्को आज नयाँ बानेश्वरस्थित व्यवस्थापिका–संसद् भवनमा बसेको संयुक्त बैठकले राष्ट्रपतिका उम्मेदवार विद्यादेवी भण्डारीलाई एकढिक्का भएर मतदान गर्ने निर्णय गरेको छ ।

बैठकमा प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताले भण्डारीलाई मतदान गर्न आह्वान गर्नुभएको थियो ।

बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले भण्डारीको विजयले राष्ट्रपति पदको गरिमा र मर्यादा अझ बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले लैङ्गिक र सामाजिक समानताका दृष्टिले पनि आफूहरुको उम्मेदवारी उपयुक्त रहेको भन्दै देशभक्ति र जनताप्रतिको जिम्मेवारी पूरा गरी नयाँ इतिहास रच्न पनि आग्रह गर्नुभयो ।

राष्ट्रपति चयनको लागि केहीबेर अघि ल्होत्से हलमा गोप्य मतदान सुरु भएको छ । नेपाली काँग्रेसका पूर्व महामन्त्री कुलबहादुर गुरुङ पनि प्रतिस्पर्धामा हुनुुहुन्छ ।

सो पदमा विजयी हुनका लागि कम्तीमा २९९ मत प्राप्त गर्नुपर्नेछ ।