पहिरो रोकथामका लागि उखुखेती

0 13

बैतडी, ३० असोज । बैतडीको गोकुलेश्वर गाविस–१ बांगाबगरका बासिन्दाले पहिरोको जोखिम न्यूनीकरणका लागि सामूहिक उखुखेती सुरु गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटीद्वारा मर्सिकोर नेपालद्वारा सञ्चालित आर्थिक उन्नतिमार्फत विपद् जोखिम न्यूनीकरण परियोजनाको सहयोगमा उनीहरुले सामूहिक उखुखेती सुरु गरेका हुन् ।

सात वर्षदेखि ढुङ्गा बालुवा जम्मा भएको ४० रोपनी जग्गामा स्थानीयले २५ जना महिला मिलेर सामूहिक उखुखेती गरेका हुन् । विसं ०६४ देखि पुरिएको जग्गामा अन्य बाली उत्पादन हुन नसक्ने अवस्था भएकाले छ वर्षयता बाँझो बनेको थियो ।

निरन्तरको पहिरोले करिब ५०० रोपनीभन्दा बढी जग्गा बाँझो बनाइसकेको छ । उक्त जमिनमध्ये पहिलो पटक यो याममा ४० रोपनीमा उखु लगाएको थियो ।

“बर्सेनि आउने पहिरोले घर आँगनमा बालुवा आउन थालेको छ ।” स्थानीय निर्मला साउदले भन्नुभयोे, “उखुले बालुवा र माटो बग्ने क्रम रोक्नेसँगै आम्दानी पनि दिने भएकाले यो विकल्प रोजेका हौँ ।”

पन्ध्र परिवारको क्षति भएको जग्गामा २५ जना मिलेर सामूहिक गरेका हुन् । उक्त व्यक्तिले चार वर्षसम्म सामूहिकरुपमा खेती गर्ने सहमति गरेका छन् । “सबैले मिलेर काम गर्ने र बराबर लाभ बाड्ने सहमति गरेका छौँ ।” स्थानीय जानकी साउदले भन्नुभयो, “चार वर्षपछि जग्गाको अवस्था सुधार भए सम्बन्धित जग्गा धनीलाई फिर्ता दिइनेछ ।”

परियोजनाले महिलाको सक्रियता बढाएर विपद्को जोखिम कम हुने र आम्दानी बढाउन बीउ, मल, विषादी, पाइपलगायतका वस्तुमा रु दुई लाखभन्दा बढी खर्च भएको स्थानीय विपद् व्यवस्थापन समितिका अध्यक्ष महादेव साउदले बताउनुभयो ।

सामान्य वर्षाले समेत पहिरो खस्ने हुँदा माटोले उखु पुरिने समस्या निम्तिएको उहाँको भनाइ छ । लेदो बगिरहने समस्याबाट उखु बाली जोगाउन पहिरोको निकास बनाएका छन् । अबका दिनमा उखुको बाली बिमा गरेर जोखिम कम गर्ने योजना रहेको समेत उहाँले बताउनुभयो ।

विसं २०६४ देखि निरन्तर गइरहेको पहिरोले आधा गाउँ डुबाइसकेको छ । त्यसले २० घर अति जोखिममा परेका छन् । पहिलो वर्ष दुई घरसहित ३०० रोपनी खेत पूरै पुरेको थियो ।

विसं २०६८ मा ठूलो भाग खसेपछि सात घर पुरिएको र ३५ परिवार विस्थापित भएका थिए । गत वर्ष तीन घर आधा पुरिएका थिए ।

पहिरो नियन्त्रणका लागि खासै पहल नभए पनि गत सालदेखि रेडक्रसको सहयोग पहिरोको जोखिम न्यूनीकरणका लागि प्रयास भइरहेको स्थानीय बासिन्दाले बताएका छन् ।