खरेललाई मन्त्री बनाएपछि एमालेमा चर्को  विवाद

0 13

काठमाडौं, असोज २९ । पार्टीका शीर्ष नेताको व्यापक विरोधका बाबजुद पनि प्रधानमन्त्री केपी शर्मा ओलीले अग्नि खरेललाई कानुनमन्त्री बनाएपछि एमालेभित्र विवाद सुरु भएको छ । पार्टीमा अरू कोही नेता नै नभएको जस्तो गरी एउटै व्यक्तिलाई पटक–पटक अवसर दिएको भन्दै ओलीनिकट नेताहरूसमेत असन्तुष्ट छन् ।

नवनियुक्त कानुनमन्त्री खरेलको पार्टीप्रतिको प्रतिबद्धताबारे समेत अहिले पार्टीभित्रै प्रश्न उठ्ने गरेको छ । ‘एमालेमा खरेल एक मात्र त्यस्ता पात्र हुन्, जसले पार्टीबाट लिनेजति सबैथोक लिइसकेका छन्, त्यो पनि अध्यक्ष ओलीको प्यारो भएर,’ एमालेका एक केन्द्रीय सदस्यले भने ।
हुन पनि खरेल अघिल्लो संविधानसभामा समानुपातिकबाट सभासद् भए । दोस्रो संविधानसभामा अघिल्लोपटक समानुपातिकबाट सभासद् भएका कसैलाई नदोहोर्‍याउने निर्णय पार्टीले गर्‍यो । तर, उनी दोस्रो संविधानसभामा पनि मन्त्रिपरिषद्ले गर्ने मनोनीत कोटाबाट संविधानसभामा छिर्न सफल भए । मन्त्रिपरिषद्ले नियुक्त गरेको व्यक्ति कुनै खास पार्टीको दलको प्रमुख सचेतक बन्न नैतिक हिसाबले नमिल्ने हो, तर ओलीले उनलाई प्रमुख सचेतक बनाइदिए ।
पेसाले राजनीतिकर्मीभन्दा पनि कानुन व्यवसायी हुन् खरेल । उनी अहिले पनि केही कर्पोरेट गृहको कानुनी परामर्शदाता रहेको स्रोतको दाबी छ । बुटवलमा सम्पन्न आठौँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिइसकेपछि ‘मेरो त बहस छ’ भन्दै प्लेन चढेर काठमाडौं आएका खरेललाई पार्टी र पैसा कुन प्यारो भन्ने विषयमा एमाले कार्यकर्ता अहिले पनि बहस गर्ने गर्छन् ।
भाग्य हुनु त अग्नि खरेलको जस्तो भनेर पनि एमाले वृत्तमा चर्चा हुने गरेको छ । केन्द्रीय सदस्यमा उम्मेदवारी दिएर बहस गर्न काठमाडांै आउँदा पनि ओली गुटको प्यानलमा पहिलो नम्बरमा नाम भएकाले उनले सजिलै चुनाव जिते । उनै खरेललाई मन्त्री बनाउन ओलीलाई कुन बाध्यताले काम गर्‍यो भन्ने खोजी एमाले वृत्तमा हुन थालेको छ ।

आफूले शपथ लिने दिन सोमबार बिहान प्रधानमन्त्री ओलीले मन्त्रीहरूबारे छलफल गर्न भन्दै केही नेतालाई आफ्नै निवास बालकोट बोलाएका थिए । नेता माधवकुमार नेपाल, उपाध्यक्ष विद्या भण्डारी, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेललाई राखेर ओलीले खरेलको नाम मन्त्रीका लागि प्रस्ताव गरेका थिए ।नयाँ पत्रिका दैनिकमा खबर छ ।