मुलुकले भोग्नुपरेको समस्यालाई सन्तुलित कूटनीतिक प्रयासद्वारा सम्बोधन गरिन्छ – नवनियुक्त उपप्रधानमन्त्री थापा

0 13

काठमाडौँ, २५ असोज । नवनियुक्त उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले छिमेकी र दाता राष्ट्रसँगको सम्बन्धलाई सुदृढ तुल्याउने कार्यलाई आफूले प्राथमिकता दिने बताउनुभएको छ ।

परराष्ट्र मन्त्रालयमा पदबहालीपछि राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिँदै उहाँले पारवहनमा देशले ठूलो समस्या भोग्नुपरेकाले कूटनीतिक प्रयासद्वारा सम्बोधन गर्ने कार्यलाई पहिलो प्राथमिकता राखेर काम गर्ने दृढता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो ‘‘तराई मधेसमा भएको आन्दोलन र पारवहनमा देखिएको अवरोधले मुलुकले ठूलो समस्या भोग्नुपरिरहेको छ । कूटनीतिक प्रयासलाई प्राथमिकता दिएर आपूर्तिलाई सहज तुल्याउन प्रभावकारी ढङ्गले कार्यसम्पादन गरिनेछ ।’’

मुलुकको स्वाधीनता र सार्वभौमसत्ताको रक्षाका लागि सर्वाेपरि हित र स्वार्थ प्रवद्र्धन गर्ने कार्यमा मन्त्रालयले हालसम्म पु¥याउँदै आएको योगदानको उच्च प्रशंसा गर्दै उहाँले भन्नुभयो ‘‘मन्त्रालयले बृहत्तर हितलाई आन्तरिक मान्यताद्वारा अघि बढाउने आशा लिएको छु ।’’

विगतमा नेपालले सुरक्षा परिषद्को अस्थायी सदस्यका रुपमा महत्वपूर्ण भूमिका निर्वाह गरिसकेको सन्दर्भ जोड्दै परराष्ट्रमन्त्री थापाले कूटनीतिक नियोगको भूमिकालाई महत्वपूर्ण बनाउने, कूटनीतिक सेवाका कर्मचारीको मनोबल उच्च राख्ने काममा आफूले विशेष ध्यान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

पारवहनलगायतका विषयमा देखिएको समस्यालाई समाधान गर्न अघिल्लो सरकारले परराष्ट्रमन्त्रीको संयोजकत्वमा गठन गरेको समितिलाई निरन्तरता दिँदै सो समितिको बैठक आजै बसेर आपूर्ति र पारवहन जोडिएका विषयमा कसरी अगाडि बढ्ने सन्दर्भमा निर्णय लिने उहाँको भनाइ थियो ।

मन्त्रालयका सचिव शङ्करदास बैरागीले मन्त्री थापाको स्वागत गर्दै नेपाली राजनीतिमा स्थापित, अन्तर्राष्ट्रिय कूटनीतिकका जानकार र परिपक्व व्यक्तिको नेतृत्व मन्त्रालयले पाएको बताउनुभयो ।

मुलुक नयाँ संविधानमार्फत सङ्घीयतामा भर्खरै प्रवेश गरेको अवस्थामा सन्तुलित परराष्ट्र नीतिलाई अघि बढाउन मन्त्री थापाको नेतृत्व सफल हुने विश्वास व्यक्त गर्दै उहाँले परराष्ट्र सेवासम्बन्धी ऐनलाई समयानुकूल संशोधन गरी मन्त्रालयको भूमिकालाई सशक्त तुल्याउन आवश्यक छ भन्नुभयो ।

विसं २०१२ मा मकवानपुरमा जन्मनुभएका मन्त्री थापा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष हुनुहुन्छ । उहाँसँग यसअघि गृह, परराष्ट्र, वन, स्वास्थ्य तथा जनसङ्ख्या, कानुन, भौतिक योजना, सूचना तथा सञ्चार मन्त्रालयको नेतृत्व गर्नुभएको अनुभव छ ।

सत्र वर्षपछि दोस्रो पटक परराष्ट्र मन्त्रालयको नेतृत्व सम्हाल्ने अवसर प्राप्त गर्नुभएका थापा परराष्ट्र मामिला र अध्ययन आफ्नो रुचीको विषय हो भने प्रखर वक्ताको रुपमा नेपाली राजनीतिमा आफ्नो स्थान बनाउनु भएको छ ।