पूर्वाधार विकास समृद्धिको महत्वपूर्ण पक्ष – उपप्रम गच्छदार

0 12

काठमाडौँ, २५ असोज । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारले पूर्वाधार विकास मुलुकको समृद्धिको महत्वपूर्ण पक्ष भएकाले त्यसलाई विशेष ध्यान दिएर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नवनियुक्त उपप्रधानमन्त्री गच्छदारले आज पदबहाली गरेपछि मन्त्रालयअन्तर्गतका कर्मचारीलाई निर्देशन दिँदै देशका ठूला पूर्वाधार विकासलाई अगाडि बढाउन विशेष प्राथमिकता दिने बताउनुभयो ।

देशको गौरवका आयोजनाका रुपमा अगाडि बढाइएको काठमाडौँ–तराई द्रुतमार्ग देशका लागि अत्यन्त महत्वपूर्ण आयोजना भएकाले त्यसलाई आफूले तीव्रगतिमा अगाडि बढाउने बताउँदै उपप्रधानमन्त्री गच्छदारले भन्नुभयो– “द्रुतमार्ग देशका लागि महत्वपूर्ण पूर्वाधार सडक आयोजना हो, यसलाई देशले पूरा गर्नुपर्छ ।”

आफूलाई रुचि भएको र अनुभवका आधारमा भौतिक पूर्वाधार तथा यातायातको विषयमा आफू परिचित भएकाले विगतमा हुन नसकेको काम तथा नयाँ कार्य तयार गरेर अगाडि बढाउने उहाँको भनाइ थियो ।

भौतिक पूर्वाधार मन्त्रालय आफ्ना लागि नौलो नभएको उल्लेख गर्दै उहाँले राष्ट्रलाई सर्वोपरी ठानेर काम गरेमा सधैँ मनोवल उच्च हुने भएकाले त्यसतर्फ ध्यान दिन कर्मचारीलाई निर्देशन दिनुभयो ।

मुलुकलाई आर्थिक दृष्टिकोणले नोक्सान हुने कामको अन्त्य हुनुपर्नेमा जोड दिँदै उपप्रधानमन्त्री गच्छदारले पारदर्शीता र जिम्मेवारी बहनमा कर्मचारीका तर्फबाट पूर्ण सहयोग हुने आफूले अपेक्षा गरेको स्पष्ट पार्नुभयो ।

नवनियुक्त उपप्रधानमन्त्री गच्छदारले यसभन्दा अगाडि उपप्रधान तथा गृह, पटक पटक भौतिक पूर्वाधार एवम् सञ्चार मन्त्रालयको जिम्मेवारी पनि सम्हालीसक्नुभएको छ ।

सो अवसरमा मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले नवनियुक्त उपप्रधानमन्त्री पूर्वाधारका विषयमा विज्ञ भएकाले आगामी दिनमा प्रभावकारी रुपमा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।