कृषि विकासमन्त्री गजुरेलद्वारा पदभार ग्रहण

0 9

 

काठमाडौँ, २५ असोज । कृषि विकासमन्त्री हरिबोल गजुरेलले पदभार ग्रहण गर्नुभएको छ ।

मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री गजुरेलले पदभार ग्रहण गर्दै प्रचारमुखीभन्दा परिणाममुखी काम गर्ने प्रतिबद्धता जनाउनुभयो । “कृषिको आधुनिकीकरण र व्यावसायिकीकरणमा सामन्तवाद बाधक भएको छ, यसका लागि भूमिसुधार गरिनु आवश्यक छ”–उहाँले भन्नुभयो ।

कृषिलाई आत्मनिर्भर बनाउन आफूले काम गर्ने प्रतिबद्धता पनि मन्त्री गजुरेलको थियो । महँगी १० प्रतिशत बढ्दा पनि कर्मचारीको तलब सुविधा नबढेकाले न्यूनतमरुपमा जीवनयापन गर्नसक्ने गरी व्यवस्था गरिनुपर्ने पक्षमा आफू रहेकोमा उहाँले जोड दिनुभयो ।

सचिव उत्तमकुमार भट्टराईलगायतले मन्त्री गजुरेललाई मन्त्रालयमा स्वागत गर्नुभएको थियो । सचिव भट्टराईले नेपाल आयल निगमले तेल नदिँदा मिल्क होलिडे हुने अवस्थामा पुगेकाले यसलाई रोक्न पहल गरिनुपर्ने बताउनुभयो ।

सो अवसरमा मन्त्रालयका योजना महाशाखा प्रमुख योगेन्द्रकुमार कार्की र प्रशासन महाशाखा प्रमुख काशीराज दाहाललगायतले मन्त्रालयको कार्यक्रमका विषयमा मन्त्री गजुरेललाई जानकारी गराउनुभएको थियो ।