मुलुकको आवश्यकता आर्थिक विकास नवनियुक्त मन्त्री पाण्डे

0 9

काठमाडौँ, २५ असोज । नवनियुक्त उद्योगमन्त्री सोमप्रसाद पाण्डे मुलुकको अबको आवश्यकता भनेको आर्थिक विकास भएको बताउनुभएको छ ।

नवनियुक्त मन्त्रीले आज मन्त्रालयमा पदबहाली गर्दै मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन औद्योगिक क्रान्तिको खाँचो रहेको औँल्याउँदै उद्योग क्षेत्रलाई आवश्यक पर्ने नीति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले मुलुकको अर्थतन्त्र सुदृढ बनाउन उद्योग क्षेत्रलाई विकास विस्तार गर्नुपर्नेमा जोड दिँदै त्यसले मुलुकको अग्रगमनका लागि सहयोग पु¥याउने बताउनुभयो ।

मन्त्री पाण्डेले संविधानसभाबाट संविधान निर्माण भएकाले अब आर्थिक क्रान्तिको बाटोमा लैजान आवश्यक रहेको औँल्याउनुभयो ।

उक्त कार्यक्रममा उद्योग सचिव जयमुकुन्द खनालले मन्त्री पाण्डेलाई स्वागत गर्दै मन्त्रालयका बारेमा जानकारी दिनुभएको थियो ।

मन्त्री पाण्डेको जीवनी

विसं २०१२ जेठ २० गते पाल्पाको मदनपोखरा गाविसको मध्यमवर्गीय परिवारमा जन्मनुभएका पाण्डे चार दशक लामो राजनीतिक गतिविधिमा संलग्न रहँदै अहिले मन्त्री पदको जिम्मेवारी बहन गर्नुभएको हो ।

विसं २०२७ मा पुष्पलाल समूहबाट कम्युनिष्ट आन्दोलनमा लाग्नुभएका पाण्डे २०२९ मा स्थानीय शारदा उच्च माविबाट एसएलसी उत्तीर्ण गर्नुभएको र त्यसको १० वर्षपछि नेपाल कानुन क्याम्पसबाट कानुनमा स्नातकको अध्ययन पूरा गर्नुभएको थियो ।

विसं २०३६ मा मनमोहन अधिकारीको माक्र्सवादी समूहमा आठ वर्ष क्रियाशील पाण्डे २०४२ सालपछि नेकपा (माले) मा सक्रिय रहनुभएको थियो । विसं २०५१, २०५६ र २०७० को निर्वाचनमा पाल्पा क्षेत्र नं २ बाट विजयी हुनुभएका पाण्डे इलाका कमिटी, जिल्ला कमिटी, राष्ट्रिय प्रतिनिधि परिषद् हुँदै केन्द्रीय सदस्यको जिम्मेवारीमा हुनुहुन्थ्यो ।

विसं २०५६ को संसदीय चुनावपछि उहाँले अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानव अधिकार समितिका सभापतिको समेत जिम्मेवारी पूरा गर्नुभएको थियो ।