जनकपुरका बन्द वित्तीय संस्था आजदेखि खुले

0 10

जनकपुरधाम, २५ असोज । सन्ताउन्न दिनदेखि बन्द रहेको जनकपुरका वित्तीय संस्था सोमबारदेखि सञ्चालनमा आएका छन् ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा धनुषाको बैठकले हिन्दूहरुको महान् चाड दसैँलाई मध्यनजर गरी सोमबारदेखि पाँच दिनका लागि यहाँका वित्तीय संस्था सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

वित्तीय संस्था सञ्चालन गर्न निर्णय गरिए पनि विद्यालय, व्यापारिक प्रतिष्ठान, यातायात, कलकारखाना, उद्योगधन्धा भने यथावत् रुपमा बन्द गर्ने निर्णय गरिएको मोर्चाका घटक दल सङ्घीय समाजवादी फोरम नेपाल धनुषाका अध्यक्ष शेषनारायण यादवले बताउनुभएको छ ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा धनुषाका अध्यक्ष परमेश्वर साहको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेको हो । लामो समयपछि वित्तीय संस्था खुलेपछि वित्तीय संस्थामा आर्थिक कारोबार गर्नेको भीड लागेको छ ।

यसैगरी करिब दुई महिनादेखि बन्द रहेका वित्तीय संस्था आंशिक रुपमा खुलेपछि बजारमा समेत चहलपहल बढेको छ ।