भारतसँगको सम्बन्ध सुधार गर्नु सरकारको पहिलो कार्यसूची हुनुपर्ने–नेता पोख्रेल

0 16

काँकडभिट्टा (झापा), २५ असोज । नेकपा (एमाले)का स्थायी समिति सदस्य शङ्कर पोख्रेलले भारतसँग बिग्रिएको सम्बन्ध सुधार गर्नु वर्तमान सरकारको पहिलो कार्यसूची हुनुपर्ने बताउनुभएको छ ।

नेकपा (एमाले) झापाद्वारा आज दिउँसो विर्तामोडमा आयोजित पार्टी कार्यकर्तासँगको भेटघाट कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिँदै भारत भ्रमणको निम्तो दिएको प्रसङ्ग उल्लेख गर्दै नेता पोख्रेलले त्यस्तो भ्रमण आपसी सम्बन्ध सुधारको नयाँ अवसर बन्ने दाबी गर्नुभयो ।

तर नाकाबन्दी नखुलेसम्म प्रधानमन्त्री ओलीले भारतको भ्रमणमा जान उचित नहुने धारणासमेत उहाँले व्यक्त गर्नुभयो ।

छिमेकी फेर्न सकिँदैन भन्ने तथ्यलाई आत्मसात् गर्दै नेपालको स्वाभिमान, सार्वभौमसत्ता र स्वाधीनता कायम राखेर मात्र भारतसँग मित्रतालाई अघि बढाउनु पर्ने नेता पोख्रेलले बताउनुभयो ।

अर्को एक प्रसङ्गमा नेपाली काँग्रेससँग एमालेले सम्बन्ध बिग्रिन नदिने बताउँदै उहाँले संविधान निर्माण गर्न सहकार्य गरेको प्रमुख साझेदार राजनीतिक शक्ति भएको उल्लेख गर्नुभयो ।