कुन कुन नाकाबाट भित्रिदैछ इन्धन ? रक्सौलमा सयौं गाडी अझै लाइनमा

0 20

काठमाडौं, असोज २४ । भारतको अघोषित नाकावन्दीका कारण मुलुकका मूख्य भन्सार नाकाहरुमा अबरोध जारी नै छ ।

देशका प्रमुख दुई नाकालाई भारतले नै रोक लगाएपनि अन्य नाकाहरुबाट भने मालसामानका कन्टेनर र कम मात्रामा पेट्रोलियम पदार्थका ट्याङ्करहरु नेपाल भित्रने क्रम जारी छ ।

मोर्चाका कार्यकर्ताकोअवरोधका कारण शनिबार सांझबाट रोकिएको बिराटनगरको रानी भन्सार आइतबार(आज) पुनः सुचालु भएको छ । यो नाका भएर आज पनि गाडीहरु नेपाल भित्रने क्रम जारी छ ।

प्रहरीले मोर्चाका कार्यकर्तालाई शनिबार सीमा क्षेत्रबाट धपाएसंगै यहां मोर्चाको प्रदर्शन हुन सकेको छैन । शनिबार साँझसम्ममा रानी भन्सार नाकाबाट १२ वटा डिजल, २ वटा पेट्रोल बोकेका गाडी र ७७ वटा मालबाहक गाडी भित्रिएको थियो ।

उता, पूर्वी नाका काँकडभिट्टामा मोर्चाका कार्यकर्ताको कुनै अवरोध नभएपनि भारतले नै पेट्रोलियम पदार्थ बाहेकका गाडीलाई मात्र नेपाल प्रवेश गराउंदै आएको छ । यस्तै, बाँकेको रुपहडिया–जमुनाहा नाका भएर शनिबार रातीसम्म ६५ वटा गाडी नेपाल प्रवेश गरेका छन् ।

६५ वटा गाडीमा ७ वटा डिजल, ३ वटा ग्यास बुलेट र एउटा पेट्रोलको बोकेका ट्याङकर रहेको छ । अन्य गाडीहरुमा भने खाद्यान्न, कच्चा पदार्थ, फलफुल लगायतका रहेका छन् । यो नाकामा कुनै अबरोध रहेको छैन ।

उता, कैलालीको धनगढी नाका भएर शनिबार राती १ लाख ३२ हजार लिटर डिजल नेपाल भित्रिएको छ । डिजल भित्रिए पनि भारतको शाहाजापुरको बन्थरा डिपोले हिजो एउटा पनि ट्याङ्करमा पेट्रोल नभरेको हो ।

यो नाका भएर छिरेको सबै डिजल सुदूरपश्चिमभरका सबै ९८ वटा पेट्रोल पम्पलाई बाडिएको छ । यो नाका भएर मालबाहक कन्टेनर भने निर्बाध रुपमा नेपाल प्रवेश गरिरहेका छन् ।

उता, आइतबार देखि लागू हुने गरी थारुहट÷थारुवान संयुक्त संघर्ष समितिले बन्द, हड्तालका सबै कार्यक्रम फिर्ता लिएको छ । दशैं, तिहारलाई मध्य नजर गर्दै आन्दोलनको सबै कार्यक्रम फिर्ता लिएको समितिले जनाएको हो ।

उता, पेट्रोल, डिजल र तराई भेगमा मोर्चाको आन्दोलनको कारण यात्रुबस कम संचालनमा आएपछि धनगढी–काठमाडौं जहाजको रकम हवात्तै बढेको छ ।
यता, देशको प्रमुख व्यापारिक बीरगञ्ज भंसार नाका आइतबार १८ दिन हुंदा समेत ठप्प रहेको छ । भारतले घोषित रुपमै यो नाका बन्द गर्दा सयौंको संख्यामा मालबाहक गाडी, ग्यांस बुलेट र पेट्रोलियम पदार्थ बोकेका गाडीहरु भारततर्फ नै रोकिएका हुन् ।

रक्सौलमा नेपाल भित्रन लामबद्ध ३ सय भन्दा बढी पेट्रोलियम पदार्थका गाडीहरु रहेका छन् । रक्सौलबाट सुरु भएको गाडीको लाईन झण्डै २६ किलो मिटर टाढासम्म पुगिसकेको छ ।

उता, मधेसी मोर्चाका कार्यकर्ताले बीरगञ्ज भंसार सिमा नाका नजिकै रहेको मितेरी पुलमा धर्ना र प्रदर्शनलाई जारी नै राखेका छन् । मोर्चाको अबरोध र भारतले नाका नखोल्दा दशैं, तिहारलाई लक्षित गरी नेपाल भित्राउन लागिएको सामानहरु बाटोमै थन्किएका छन् ।

एक दिन यो नाका बन्द हुंदा देशलाई करोडौं घाटा हुने गरेको छ । उता, मधेश आन्दोलनलाई तराईमा बस्ने पहाडी समुदायले पनि समर्थन जनाएका छन्
त्यसैगरी, देशका अर्को प्रमुख नाका भैरहवाबाट पनि ८ दिनयता कुनै पनि सामाग्री नेपाल भित्रन सकेको छैन । भारतले नै यो नाका बन्द गरेपछि नेपाल प्रवेश गर्न सुनौलि नाकामा लामबद्ध बसेका गाडीहरु भारततर्फ फर्किएका छन् ।

बाटोमा गाडी राख्दा सुरक्षा नभएपछि यहांका प्राय गाडी अहिले जहांबाट आएको त्यतै फर्किएका हुन् । यो नाकामा अहिले न्यून संख्यामा मात्र गाडी रहेको छ ।
उता, भारतीय भंसारले स्थानिय नेपालीहरुलाई सुनौली बजारको लागि समेत जान रोक लगाएको छ ।

मोर्चाका कार्यकर्ताले भारतीय भूमीमा बसेर प्रदर्शन गर्न थालेपछि स्थानिय प्रशासनले त्यो कार्यमा समेत रोक लगाएपछि अहिले यो नाकामा कुनै प्रदर्शन भएको छैन । भारतका अन्य शहरमा जानेहरुलाई भने यो नाकामा कुनै रोकतोक गरिएको छैन ।