नीरलाई ‘डायमन प्रतिभा’

0 19

आश्विन २४, २०७२- वरिष्ठ फिल्म निर्देशक तथा निर्माता नीरविक्रम शाह डायमन प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन्। राणाको ९८ औं जन्मजयन्तीको अवसर पारेर नीरलाई ‘वसन्ती’ र ‘सेतो बाघ’ जस्ता ऐतिहासिक कृतिमाथि आधारित फिल्म बनाएकोले शुक्रबार उक्त पुरस्कारले सम्मानित गरिएको हो।

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभू घिमिरेले डायमनशमशेर राणा साहित्यिक प्रतिष्ठानका तर्फबाट २५ हजार रुपैयाँसहित सम्मान गरेका थिए। फिल्ममा लामो समयदेखि क्रियाशील रहेका नीरले सम्मानित भएपछि राणाको कृतिमा भिन्न प्रकारको रसास्वादन रहेको टिप्पणी गरे। उनले पहिलोपटक राणाको कृति स्कुले जीवनमा पढेको स्मरण गर्दै अहिले पनि धेरैपटक अध्ययन गरेर मात्र फिल्म बनाउन आँट गरेको बताए। नीरले भने, ‘नेपाली साहित्यमा आधारित रहेर फिल्म निर्माण गर्न सकिने कृति निकै कम छन्।’ समीक्षक प्रा.डा. गोविन्दराज भट्टराईले डायमनशमशेरका उपन्यासमा ‘जादूमयी यथार्थवाद’ रहेको अनुभवसहित अहिले पनि उनका कृतिमा आधारित रहेर विद्यावारिधि गर्नेहरू रहेको बताए।

प्रा.डा. तुलसीप्रसाद भट्टराईले सम्भ्रान्त परिवारमा जन्मिएर पनि प्रजातन्त्रका खातिर झन्डै आठ वर्ष बन्दी जीवन बिताएका डायमनशमशेरको राजनीतिक व्यक्तित्वको चर्चा गर्दै ऐतिहासिक उपन्यास लेखनमा राणाको शैली र स्तरलाई पछ्याउने नेपाली स्रष्टाको अभाव रहेको बताए। कार्यक्रममा राणाका छोरा तथा प्रतिष्ठानका संरक्षक रघुशमशेर राणाले वरिष्ठ कलाकार शाहले पिताका शब्दलाई दृश्यमा उतारेर साहित्यलाई व्यावसायिक बनाउन सकिन्छ भन्ने सन्देश दिएको बताए।