मधेसमा बस्ने पहाडी समुदायको एक्यवद्धता जुलुस

0 9

आश्विन २३, २०७२- झण्डै २ महिनादेखि जारी मधेस आन्दोलनमा वीरगन्जमा बसोवास गर्ने पहाडी समुदायले शनिबार एक्यवद्धता जनाएका छन् । विहान स्थानीय घन्टाघरबाट निस्केको जुलुसले नगरपरिक्रमा गरी मितेरी पुल स्थित जारी धर्नास्थलमा सम्पन्न भएको थियो । आन्दोलन मधेसमा बस्ने पहाडी, मारवाडी, मुस्लिम सबैको आन्दोलन हो भन्ने सन्देश प्रवाह भएको अगुवा डा.दिपक शाक्यले बताए । ‘यसले सामाजिक सदभाव समेत कायम गर्छ,’ उनले भने, ‘सदियौँदेखि सबै मिलेर बसेको समाज केही गलत तत्वले चाहेर बिथोलिदैन् ।’ मधेस आन्दोलनको ५७ दिन बितिसक्दा पनि नेपाल सरकारले मुलुकको आधा जनसंख्याको भावनालाई कदर नगरेको गुनासो गर्दै यथासिघ्र मधेसका माग पुरा गर्न आह्वान गरेका थिए । अधिकार प्राप्तिका लागि एक दशक भित्र मधेसमा अहिले तेस्रो आन्दोलन चलिरहेको छ । १७ दिनको नाकाबन्दीले मुलुकमै अभाव चुलिएको छ ।
पहाड मात्र हैन् मधेसका सहरमा समेत इन्धन र एलपीजी ग्यासको अभाव चर्किएको छ । मितेरीमा पुलमा जारी धर्नामा सहभागि हुन पर्सा र बाराका विभिन्न गाउँबाट सर्वसाधारण ट्याक्टर, साइकल र मोटरसाइकल चढेर हजारौँ जनता आउन थालेका छन् । गाउँबाट ट्याक्टरमा आएका उनीहरु स्थानीय घन्टाघरबाट बाजा बजाउँदै धर्नास्थल पुगेका थिए । राज्य गम्भीर नहुँदा सबै नेपालीले दुख पाएका हुन् । मधेसको अधिकारको प्राप्तिका लागि यो नै अन्तिम संघर्ष भएकाले यसपाली उधारो सम्झौता हैन् नगदमा अधिकार लिने नेताहरु बताउँछन् । ‘गाउँ गाउँबाट आन्दोलनमा सहभागि हुन आएका जनताले समेत यसपटक पछाडि नहट्न दबाब दिइरहेका छन्,’ रामसपाका केन्द्रिय सदस्य राजेशमान सिंह भन्छन्, ‘जति दिन बन्द गर्नुपरे पनि मधेसका सबै वर्ग तयार छन् ।’ यसैबीच ५७ दिनदेखि मधेस आन्दोलन जारी भएपनि सरकारले कानमा तेल हालेर बसेको भन्दै मधेसी मोर्चाले ध्यानाकर्षण गराउन खाली थाल ठठाउँने, अर्द्ध नग्न जुलुस प्रदर्शन, हस्ताक्ष्ार संकलन लगायतका शान्तिपूर्ण आन्दोलन जारी राखेको नेपाल सदभावना पार्टीका केन्द्रीय सदस्य शिव पटेलले बताए ।