महतोले भने ‘मधेसको एक इन्च भूमि छाड्न सकिन्न’

0 11

आश्विन २३, २०७२- सद्‍भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मेचीदेखि महाकाली बीचको एक इन्च मधेसको भूमि छाड्न नसकिने बताएका छन् ।
आन्दोलनको क्रममा भदौ २५गते प्रहरीको गोली लागी जनकपुरमा मृत्यु भएका संजयकुमार चौधरी, निकु कुमार यादव तथा दिलिप यादवको स्मृतिमा शनिवार यहाँ आयोजित श्रद्धाञ्जली सभालाई संवोधन गर्दै उनले भने-‘यसपालीको आन्दोलन वारपारको छ । हामीलाई उधारो होइन, नगदीमा चाहिएको छ ।’

 

बाहृबीघा रंगभूमि मैदानमा आयोजित श्रद्धाञ्जली सभालाई संवोधन गर्दै महतोले तीन ठुला दल अझै पनि जालझेलमै लागेको आरोप लगाए । उनले असोज ३ गते जारी संविधानलाई ‘नेपालको बाहुनको संविधान २०७२ ‘ भनि टिप्पणी गरे । उनले भने-कोइराला, ओली तथा दाहालद्वारा जारी संविधान बाहुनको संविधान हो । यसले मधेसी, आदिवासी, जनजाति, मुस्लीमआदि सिमान्तीकृत वर्ग र जात जातिको अधिकार सुनिश्चित गरेको छैन ।
एमाले अध्यक्ष केपी ओली शर्माप्रति आक्रामक देखिएका महतोले ,काठमाण्डौमा मधेसको सम्पूर्ण मांग पूरा भई सकेको दावी गर्ने ओलीले बारहवीघामा आएर यही कुरा दोहराउन चुनौती दिए ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले कुनै नयाँ मांग अघि नसारेको उल्लेख गर्दै उनले भने-एमाले र एमाओवादीका शीर्ष नेताहरुको रोहवरमा तत्कालीन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले गरेको समझौता पालन गरि दिए पुग्छ ।
तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रिय उपाध्यक्ष बृषेशचन्द्र लालले मधेसको मांग पूरा नभए सम्म आन्दोलन जारी रहने बताए ।
तमलोपा धनुषाका अध्यक्ष परमेश्वर साहको अध्यक्षतामा सम्पनन श्रद्धाञ्जली सभालाई नेकपा-माओवादी सम्बद्ध मधेसी राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष रोशन जनकपुरी, संघीय समाजवादी फोरमका शेषनारायण यादव, तमसपाका रुपनारायण मण्डल, डा.सुरेन्द्र यादव,युवा नेता शंकर साह लगायतले संवोधन गरेका थिए ।