सीमामा ११ सय नयाँ गाडी थन्किए

0 15

आश्विन २२, २०७२- जारी बन्द हडताल र नाकामा अवरोधका कारण नेपाली आयातकर्ताले भारत तथा तेस्रो मुलुकबाट ल्याएको करिब १ हजार १ सय वटा विभिन्न खालका नयाँ गाडी सीमा वारि/पारि अलपत्र परेका छन् । वीरगन्ज भन्सार कार्यालयको यार्डमा सयको हाराहारीमा जिप, कार, भ्यान थन्किएका छन् ।

झन्डै २ सातादेखि यहाँबाट एस्कर्टिङमा सवारी साधन राजधानीतर्फ नपठाइएकाले कतिपय आयातकर्ताले दसैं, तिहारलगायत चाडपर्वको मुखमा समेत सवारी साधन यहाँबाट जाँचपास गराई लग्न सकेका छैनन् ।

केहीले भने एस्कर्टिङमा लग्न पनि जोखिम हुने देखेर स्थिति सामान्य नबनेसम्म जाँचपास नगर्ने भनी भन्सार यार्डमै राखेका छन् । वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत सुशीलप्रसाद शर्माले हाल भन्सार यार्डमा भारत तथा तेस्रो मुलुकबाट समेत आयातित गरी करिब १ सय वटा जिप, कार, भ्यान रहेको जानकारी दिए ।

त्यसबाहेक सीमापारि भारतीय भूमिमा करिब १ हजारको संख्यामा जिप, कार, भ्यान, बस ट्रकका चेसिस, मिनी बस आदि नाकामा अवरोधका कारण थन्किएको सूचना आएको शर्मा बताउँछन् ।

बर्सेनि भदौ/असोज महिनामा तुलनात्मक रूपमा बढी सवारी साधन आयात हुने गरेका छन् । दसैं, तिहारजस्ता पर्वमा नयाँ सवारी साधन किन्ने र विक्रेताहरूले पनि छुटको योजना ल्याउने भएकाले यी पर्वमा सवारी साधनको व्यापार बढ्ने गर्छ ।

यहाँ सीमावारि र पारि गरी अड्किएका सवारी साधनको मूल्य मात्रै करिब १ अर्ब १० करोड रुपैयाँ रहेको शर्माको अनुमान छ । वीरगन्ज नाका मुलुककै सर्वाधिक सवारी साधन आयात हुने नाका हो । यो नाकाबाट मुलुकमै आयात हुने कुल सवारी साधनमध्ये ७० प्रतिशत सवारी साधन आयात हुने गरेको शर्मा बताउँछन् ।

वीरगन्ज भन्सारलाई राजस्वमा योगदान गर्ने वस्तुमध्ये सवारी साधन र इन्धन क्रमश: पहिलो र दोस्रो वस्तु हुन् । नाका अवरोधका कारण दुवै वस्तुको आयात र जाँचपास ठप्प भएपछि यो भन्सारको राजस्व असुलीसमेत प्रभावित भएको उनले बताए ।

यो नाकाबाट आयात हुने कुल सवारी साधनमध्ये ७० प्रतिशत भारतीय तथा ३० प्रतिशत तेस्रो मुलुकका हुने गर्छन् । भारतका महिन्द्रा, टाटा, सुजुकी, मारुती, सेन्ट्रो ब्रान्डका सवारी साधन बढी आयात हुन्छन् भने जापान, थाइल्यान्ड, कोरिया, चीनलगायत तेस्रो मुलुकबाट टक्सन, भक्सवागन, पजेरो, प्राडो, टोयोटालगायत ब्रान्डका सवारी साधन आयात हुने गरेका छन् ।

राजस्वमा योगदान दिने सवारीमा भने भारतमा निर्मित भन्दा तेस्रो मुलुकमा निर्मित एवं आयातित सवारी साधनको भूमिका बढी हुने गरेको छ । तुलनात्मक रूपमा महँगा हुने तेस्रो मुलुकबाट आयातित एउटै जिप, कार वा भ्यानबाट ८० लाख रुपैयाँसम्म पनि राजस्व संकलन हुने गरेको शर्माले जानकारी दिए ।

‘प्राडो, टोयोटाजस्ता ब्रान्डका महँगा गाडी भित्रिए त्यस्तो एउटै गाडीले पनि ८० लाख रुपैयाँसम्म पनि राजस्व दिन्छ,’ उनले भने, ‘सवारी साधनमा सुविधाजनक जिप, कार, भ्यानबाटै सर्वाधिक राजस्व संकलन हुने हो ।’ यस्ता सवारी आयात गर्दा ८० प्रतिशत भन्सार, मूल्य अभिवृद्धि करलगायत गरी २ सय ६ प्रतिशतसम्म राजस्व लाग्छ ।