दसैंअघि निजी सवारीले एक दिन इन्धन पाउने

0 10

आश्विन २२, २०७२- दसैंअघि निजी सवारी साधनले एक दिन इन्धन पाउने भएका छन् । गृह मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय, तीनै सुरक्षा निकाय, नेपाल आयल निगम र यातायात व्यवसायीहरूबीच बिहीबार भएको बैठले निजी सवारीलाई एक दिन इन्धन दिने निर्णय भएको छ । ‘चाडवाड नजिकिएकाले राजधानीबाहिर जान चाहने उपभोक्तालाई एक दिनका लागि निजी सवारी साधनलाई तेल दिने निर्णय भएको छ,’ मन्त्रालयका आपूर्ति व्यवस्थापन तथा संस्थान शाखाका उपसचिव शिवप्रसाद त्रिपाठीले भने, ‘त्यो दिन जोर बिजोर लागू हँुदैन ।’ त्रिपाठीका अनुसार मोटरसाइकललाई ५ लिटर, कार/जिपलाई १० लिटर इन्धन (डिजेल/पेट्रोल) वितरण गरिने छ ।
निगमका प्रवक्ता दीपक बरालले पनि तोकिएको दिन प्राय: सबै पम्पबाट इन्धन वितरण गरिने उनले बताए । वितरण हुने दिनमा निजी र सार्वजनिक सवारीका लागि छुट्टाछुट्टै पम्प तोकिने उनले बताए । ‘इन्धन वितरण गर्ने दिन चाँडै नै तोक्ने छौं । निजी सवारी र सार्वजनिकलाई छुट्टै पम्प तोक्ने छौं,’ बरालले भने ।

बैठकले लामो दूरीका बसलाई पनि प्राथमिकतामा राखेको छ । यसका लागि अन्य निकायमा वितरण हुँदै आएको इन्धन कटौती गर्ने सरकारको तयारी छ । ‘दसैंमा यात्रुलाई गन्तव्यसम्म पुर्‍याउन स्टक र अन्य निकायलाई दिँदै आएको डिजेल कटौती गरेर लामो दूरीका बसलाई वितरण गर्ने निर्णय भएको छ,’ उपसचिव त्रिपाठीले भने । अन्य निकायलाई वितरण हुने डिजेल कटौतीबारे थप छलफल हुने मन्त्रालयले जनाएको छ ।

यस्तै लामो दूरीको रुटमा चल्ने बस, मिनी बस र माइक्रो बसमा चाहिने इन्धनको विवरण उपलब्ध गराउन व्यवसायीलाई भनिएको छ । ‘कति/कुन परिमाणमा चाहिने त्यसका लागि पेस गर्न निर्देशन दिएका छौं,’ उनले भने, ‘प्रतिवेदन प्राप्त भएपछि थप प्रक्रिया अघि बढाउने छौं ।’ ती ठूला बसहरूलाई घटस्थापनाका दिनदेखि डिजेल वितरण गर्ने निर्णय भएको त्रिपाठीले बताए । घटस्थापनका दिनदेखि ठूलो बसमा इन्धन वितरणमा जोर बिजोर हटाइने जनाएको छ । यस्तै सरकार दसैंका लागि जहाजबाट इन्धन ल्याउने तयारीमा पनि जुटेको छ ।

अघोषित नाकाबन्दीले इन्धनको चरम अभाव हुन थालेपछि निगम यस्तो तयारीमा जुटेको हो । चाडवाडमा सार्वजनिक सवारीसाधनलाई गन्तव्यसम्म पुर्‍याउन यस्तो भएको हो । आपूर्तिमा समस्या हुन थालेपछि वाणिज्य तथा आपूर्ति मन्त्रालयले निगमलाई वैकल्पिक मार्ग पहिचान गर्न निर्देशन दिइसकेको थियो । चीन, बंगलादेश, मलेसियालगायत कुन मुलुकबाट सम्भव हुन्छ सोहीअनुसार ल्याउन निर्देशन दिइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयको निर्देशनअनुसार निगमले पेट्रोलियम पदार्थ र ग्यास आपूर्तिका लागि बिहीबार टेन्डर आह्वान पनि गरेको छ ।

दुई सातादेखि भारतीय आयल निगमले पर्याप्त तेल नपठाएपछि निगमले १५ दिनका लागि जुनसुकै माध्यमबाट जुनसुकै देशबाट आयात गर्न सक्ने गरी टेन्डर आह्वान गरेको हो । निगमले तीन दिनभित्र प्रस्ताव पेस गर्न सूचना जारी गरेको छ । हालको परिस्थिति सहज नभएसम्म हवाई इन्धन, पेट्रोल, डिजेल, मटितेल र खाना पकाउने ग्यास जुनसुकै देशबाट र जुनसुकै मार्गबाट ल्याएर आपूर्ति व्यवस्थालाई सहज बनाउन मन्त्रिपरिषद्ले निगमलाई जिम्मा दिएको छ ।

१५ दिनका लागि प्रतिदिन डिजेल करिब २०० किलोलिटर, पेट्रोल करिब १ सय किलोलिटर, हवाई इन्धन र मटितेल करिब २०० किलोलिटर र एलपी ग्यास करिब १ सय मेट्रिकटन ल्याउन निगमले टेन्डर जारी गरेको हो ।