सहमतीय सरकारमा जोड

0 14

काठमाडौँ, २१ असोज । संविधान जारी भएपछिको अवस्थामा सहमतीय सरकार गठन हुनुुपर्नेमा विभिन्न दलका नेताले जोड दिनुभएको छ ।

प्रेस चौतारी नेपालले आज यहाँ आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा वक्ताहरुले मुलुकमा दिगो शान्ति, विकास र संविधानको कार्यान्वयनका लागि प्रमुख दल मिलेर अघि बढ्नुपर्र्ने धारणा राख्नु भयो ।

नेकपा (माले)का महासचिव सिपी मैनालीले प्रमुख दल मिलेर अगाडि बढ्न आफूहरुले सुझाव दिएको जनाउँदै भन्नुभयो, “वर्तमान अवस्थामा प्रमुख तीन दल नेपाली काँग्रेस, नेकपा (एमाले) र एमाओवादीबीचको सहमतिका आधारमा सरकार बन्न सकेमा मुलुकको हितका लागि राम्रो हुन्छ ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकलाई अखण्ड राख्न सबै दल मिल्नुपर्ने र राष्ट्रिय स्वाधीनताका लागि निडरताका साथ अघि बढनुपर्नेमा जोड दिनुभयो ।

एमालेका केन्द्रीय सदस्य सूर्य थापाले प्रमख दलबीचको भद्र सहमतिअनुसार एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सरकार गठन हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल जनता दलका अध्यक्ष हरिचरण साहले संविधान जारीपछि ठूला दलका नेता तराई मधेसमा पुग्न नसक्नुले पनि जनस्तरमा अन्योल सिर्जना भएको टिप्पणी गर्नुभयो ।