दसैं तिहारलाई मस्ताङबाट भेडाच्याङ्ग्रा निर्यात हुदैं

0 13

मुस्ताङ, २१ असोज । दसँै र तिहारलाई लक्षित गरी हिमाली जिल्ला मुस्ताङबाट २० हजार भेडाच्याङ्ग्रा निर्यात हुने भएको छ ।

उपल्लो मुस्ताङका छोसेर, छोण्हुप, सुर्खाङ, कागबेनी, झोङ र लोमान्थाङ गाविसबाट उक्त परिमाणमा भेडाच्याङग्रा ल्याउन लागिएको हो । भेडाच्याङ्ग्रा खरिदका लागि नेपाल खाद्य संस्थान, म्याग्दी, पर्वत, बाग्लुङ र कास्की क्षेत्रका व्यापारी मुस्ताङ आइसकेका छन् ।

चाडपर्वलाई लक्षित गरी भेडाच्याङ्ग्रा निर्यात हुने जिल्ला पशु सेवा कार्यालय मुस्ताङका पशु चिकित्सक नन्दलाल बर्माले जानकारी दिनुभयो । “खाद्य संस्थानबाट एक हजार खसीको माग आएको छ, अन्य व्यापारी पनि जिल्ला आइराख्नुभएको छ”, उहाँले भन्नुभयो– “विगतका वर्षमा तिब्बतबाट पनि खसी आयात हुन्थ्यो, यस वर्ष त्यो नहुने भएको छ ।”

तिब्बतका किसानले स्थानीयबजारमै भेडाच्याङ्ग्राको माग पूरा गर्न नसकेको भन्दै नेपाली व्यापारीलाई बिक्री नगर्ने खबर पठाएपछि उपल्लो मुस्ताङका किसानबाटै उक्त माग पूर्ति गराउन निर्देशन दिइएको पशु सेवा कार्यालयले जनाएको छ ।

गत वर्षमा मुस्ताङबाट कम र तिब्बतबाट बढी भेडाच्याङ्ग्रा आयात हुने गरेको थियो । “अहिले डोल्पाबाट पनि खसी ल्याउने तयारी भएको छ, त्यो प्रयास सफल भयो भने बजार माग धान्न सकिन्छ”, उहाँले भन्नुभयो ।

तिब्बतबाट आयात नहुने भएपछि यस वर्ष विगतको भन्दा भेडाच्याङ्ग्राको मूल्य महँगो हुने भएको छ । अत्यधिक हिउँपछिको चिसो र हिउँ चितुवाको आक्रमणका कारण यस वर्ष उपल्लो मुस्ताङमा मात्रै चार हजारभन्दा बढी भेडाच्याङ्ग्रा मरेका थिए ।

“यस वर्ष अझ केही महङ्गो होला, अहिलेसम्म मूल्य भने तयार भइसकेको छैन्” बर्माले भन्नुभयो ।