कृत्रिम अभाव देखाइ कालोबजारी

0 22

गाईघाट(उदयपुर), १९ असोज । उदयपुरको पहाडी क्षेत्रको खाँबु, रौतासल्ले, रसुवा, फोक्सिङटार तथा मुर्कुची क्षेत्रका स्थानीय बजारमा अनुगमन हुन नसक्दा व्यापक कालोबजारी बढ्दै गएको छ ।

निरन्तरको बन्द तथा नेपाल–भारत सीमामा देखिएको असहज अवस्थाको बेला स्थानीय व्यापारीले भने दैनिक उपभोग्य वस्तुको कृतिम अभाव देखाएर मूल्यवृद्धि गरेको उपभोक्ताहरु बताउँछन् ।

व्यापारीले चिनी, चामल तथा नुनको कृत्रिम अभाव देखाएर महँगोमा दैनिक उपभोग्य सामग्री बेच्ने गरेको पोखरी सल्ले–२ का सुरेन्द्र कार्कीले बताउनुभयो ।

अर्का उपभोक्ता कुमार मुङ्ग्रातीले व्यापारीले एक पोका नुनको रु ८० र चिनी प्रतिकिलो रु १२५ सम्म लिएर बेच्ने गरेको बताउनु भयो । यस्तै व्यापारीले चामल तथा खाने तेलको समेत व्यापक मूल्यवृद्धि गरेका छन् ।

बन्दका कारण उपभोग्य सामग्रीको अभाव भएको देखाउँदै व्यापारीहरुले मनपरी शुल्कमा उपभोग्य वस्तु बेच्ने गरेको सल्ले माविका शिक्षक लक्ष्मी घिमिरेले बताउनभुयो । त्यस्तै पहाडी क्षेत्रका बजारमा व्यापारीले भने बजारमा उपभोग्य वस्तुको कृत्रिम अभाव देखाएर सडेगलेका, म्याद नाघेका वस्तुसमेत बिक्री गर्न थालेका छन् ।

सम्बन्धित निकायले अहिलेसम्म बजारमा अनुगमन नगरेका कारण कालोबजारी बढ्दै गएकोले अनुगमन गरी कालोबजारीमा संलग्न व्यापारीमाथि कडा कारबाही हुनुपर्ने उपभोक्ताहरु बताउँछन् ।