देउराली फेरोमा जिप खस्दा एकको मृत्यु, १३ गम्भीर घाइते

0 16

कावासोती, १८ असोज । नवलपरासीको दलदलेबाट बुलिङटारका लागि छुटेको जिप आज अपराह्न अर्खाला–३ देउराली फेरोको सडकबाट खस्दा एकजनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

जिल्लाको पहाडी गाविस बुलिङटारतर्फ जाँदै गरेको ग१ज ५८८४ नम्बरको जिप अपराह्न ४ बजे सडकबाट १०० मिटर तल खस्दा एकजनाको मृत्यु भएको हो ।

मृतकको नाम ठेगाना खुल्न सकेको छैन । सो दुर्घटनामा १३ जना यात्रु गम्भीर घाइते भएका लेकवेशी यातायात व्यवसायी समितिका कोषाध्यक्ष रेशम सापकोटाले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएकालाई उपचारका लागि दलदले र भरतपुर ल्याइँदैछ । राजमार्गबाट चार घन्टा टाढा भएकाले घाइतेलाई ल्याउन लामो समय लागेको हो । घाइते लिन गएको लेकवेशी यातायात व्यवसायी समितिको टोली अहिलेसम्म फर्केका छैनन् ।

विकट गाविस भएकाले तत्काल उद्धार गर्न नसकिएको हो । उद्धारका लागि इलाका प्रहरी कार्यालय रुद्रपुर धौवादीबाट प्रहरी घटनास्थलमा पुगेको प्रहरी नायब उपरीक्षक परशुराम तिवारीले बताउनुभयो ।