नेपालको संविधान विश्वमै उत्कृष्ट– नेता पोखरेल

0 31

 

भक्तपुर, १६ असोज । नेकपा (एमाले)का नेता शङ्कर पोखरेलले नेपालको संविधान विश्व कै उत्कृष्ट संंविधान भएको बताउनुभएको छ ।

भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका एमाले नगर कमिटीको प्रथम अधिवेशनको आज उद्घाटन गर्दै उहाँले अरु देशको तुलनामा नेपालको संविधान उत्कृष्ट भएको उल्लेख गर्नु भयो ।

संविधानमा नागरिकताको व्यवस्था भारतको भन्दा खुकुलो भएको बताउँदै उहाँले विश्वका नागरिकलाई नेपाली नागरिकता भने दिन नसकिने उहाँको भनाइ छ ।

पोखरेलले संविधान संशोधनमार्फत नागरिकताको व्यवस्था परिवर्तन गर्न नहुने तर्क राख्दै भन्नुभयो, “के संविधान संशोधन गरेर विश्वका नागरिकलाई नेपाली नागरिकता दिन सकिन्छ भनेर व्यवस्था गर्ने हो, यो हुनै सक्दैन ।”

सो अवसरमा उद्योग मन्त्री महेश बस्नेतले सरकारले अघोषित नाकाबन्दी खोल्न कूटनीतिक पहल गरिरहेको बताउँदै केही दिन मै भारतले नाका खोल्ने दाबी गर्नुभयो ।

कार्यक्रममा सभासद् केदार सञ्जेल, एमाले जिल्ला अध्यक्ष राजेन्द्र राजथलालगायतले मुलुकमा देखिएको सङ्कट छिटो समाधान हुनुपर्नेमा जोड दिनुभयो ।