रारामा चरा हरुको संख्या बढ्यो (फोटो फिचर)

October 03 2015 06:16

रारा तालको पानीमा हिमाल टल्किन्छ। पानीमा हल्लिएको हिमालको छायाले त्यहाँ पुग्नेको मनमा सौन्दर्यको विशिष्ट विम्ब सजाइदिन्छ। राजा महेन्द्र राराको सुन्दरताबाट अत्यन्त मोहित भएर रारालाई अप्सरासँग तुलना गर्दै कविता नै लेखेका थिए-रारा कि अप्सरा? शीर्षकमा।

हिमाल र हरियो जंगलले घेरिएको राराले आफ्नो सौन्दर्यसँगै विश्वमै दुर्लभ भइसकेका जैविक विविधताको संरक्षणसमेत गरिरहेको छ।नेपालकै सबैभन्दा सानो संरक्षित यो क्षेत्रले विश्वमै दुर्लभ चराचुरुंगीका सयौं संख्या संरक्षण गरिरहेको छ। विश्वभरिका सिमसार क्षेत्र सूचीकृत हुने रामसार साइटमा समावेश १०८० हेक्टरमा फैलिएको रारा तालमा दुई सय ८४ प्रजातिका चराचुरुंगी रमाइरहेको भेटिएको छ। तीमध्ये रारा ताल र मध्यवर्ती क्षेत्रमा विश्वकै दुर्लभ पानी ढुकुर र चिर कालिज भेटिएको छ।


यी संसारबाटै लोप हुने अवस्थामा छन्। त्यस्तै राष्ट्रिय रूपमा दुर्लभ मानिएका दर्जनौं चरा रारामा भेटिए। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र राष्ट्रिय पन्छी संरक्षण संघले गरेको अध्ययनअनुसार यीमध्ये ४९ प्रजातिका चरा भने सिमसारमा बस्ने प्रकारका छन्।

रारामा सबैभन्दा धेरै फिस्टाका ४१ प्रजाति भेटिएका छन्। यो प्रजातिमा चाँचर भ्याकुरलगायत पर्छन् । त्यस्तै सबैभन्दा सानो फिस्टाका ३३ प्रजाति रारा आसपासमा रमाइरहेको भेटियो।

अनुसन्धानमा संलग्न पन्छीविद् हठन चौधरीका अनुसार कतिपय चराहरू राराबाहेक अन्यत्र देखिएको छैन । ‘कस्मिर माउटाच यसैको एउटक उदाहरण हो’, चौधरीले भने।

रारा दहमा पानीमा रमाउने धेरै प्रजातिका चरा देखिएका छन्। विज्ञहरूका अनुसार, साइबेरियाबाट आउने चराहरूसमेत यहाँ बस्छन्। कोणधारी जंगल भएकाले यहाँ त्यसमा रमाउने चराको संख्या धेरै छ।

नजिकै हिउँ पर्ने हिमाल नभएकाले चिसोमा बस्ने चरा भने विस्तारै त्यहाँबाट अन्यत्र सर्छन्। त्यस्तै यो क्षेत्रमा विश्वमै दुर्लभ रेड पान्डासहित, मृग, हिमाली भालुलगायतका ५२ प्रजातिका स्तनधारी जनावर भेटिएको छ। यसैगरी एक हजार २४ प्रकारका विभिन्न बोटबिरुवा पनि यहाँ छन्।

रारामा कालो तित्रा, हिमाली हिउँ कुखुरा, फिउरा, चिलिमे, डाँफेलगायतका पन्छीको संख्या धेरै छ। त्यस्तै हंश प्रजातिका खोया हाँस, सुइपुछ्रो, खडखडे हाँस, कालीजुरे हंश, मणितुण्डक तथा सुनजुरे हाँस पाइन्छन्।
kandebhyakur-nepal
रारावरिपरि हिमाली काष्ठकुट, सुनजुरे काठफोर, दार्जेलिङ काष्ठकुट तथा कालोगर्धने काठफोर पनि विज्ञहरूले पहिचान गरेका छन्। न्याउलीसमेत रारामा रमाइरहेको चराविज्ञ ठकुरीले बताए।फाप्रेचरा, सानो माटिकोरे, पहाडी बीउ कुहियो, काफल पाक्यो, सानो कोइली, कुकु कोइली पनि उल्लेख्य संख्यामा रारामा भेटिए।

त्यस्तै गौंथलीका विभिन्न प्रजाति सेतोकण्ठे, खैरो, पुच्छरकापे गौंथली पनि विज्ञहरूले पहिचान गरेका छन्। मलेवाका लेकाली मलेवा, हिमाली मलेवा, छिरविरे वन परेवा पनि राराको आकाशमा धेरै उड्ने चराहरू हुन्।तामे ढुकुर, कुर्ले ढुकुर, कण्ठे ढुकुर तथा कर्‍याङकुरुङ सारस पनि पाइन्छन्।
रारामा सबैभन्दा धेरै फिस्टाका ४१ प्रजाति भेटिएका छन् । यो प्रजातिमा चाँचर, भ्याकुरलगायत पर्छन् । त्यस्तै सबैभन्दा सानो फिस्टाका ३३ प्रजाति रारा आसपासमा रमाइरहेको भेटियो।
सिमकुखुरा तथा मरुल चरा पनि रारा राष्ट्रिय निकुञ्जमा रमाइरहेका छन्। वनचाहा, टिमटिमा, वन सुडसुडसुडिया, पानी चाहा तथा वन चाह पनि यो क्षेत्रमा बस्छन्। रारा तालमा अर्को सुन्दर चरा जल अप्सरा पनि पाइन्छ। अलिमुख, मंगोल राजपुत्रिका र वडा राजपुत्रिका पनि रारामा रमाउने चरा हुन्।

चीलका प्रजाति पनि रारामा धेरै छन्। अध्ययनअनुसार, राजा गंगाचील, खैरो टाउके गंगाचील, हिउग्लिन गंगाचील आकाशमा उडिरहेको देखिन्छ । प्रकृतिमा कुचीकारको भूमिका निर्वाह गर्ने धेरै प्रजातिका गिद्ध यो क्षेत्रमा पाइन्छन्।

पन्छीविद्हरूका अनुसार महाला चील, कालो चील, सेतो गिद्ध, हिमाली गिद्ध, काकाकुल, भुइँचील, वनवाज, द्रोणक चील, चल्लाचोर भुइँचील, कँधचन्द्र चील पनि यो क्षेत्रमा धेरै देखिन्छन्।त्यस्तै डुबुल्की चरा, सानो बौडाई तथा जुगे चिरान्तक बाज र जलेवासमेत पाइन्छन्।

‘फुस्रे बकुल्ला, बँके बकुल्ला, ठूलो जुन बकुल्ला पनि पाइन्छन् भने भद्राइका पनि तीन प्रजाति यो क्षेत्रमा देखिएको छ’, अनुसन्धानमा संलग्न पन्छीविद् चौधरीले भने।यस्तै वन काग तथा चाँचर प्रजातिका धेरै चरा रारामा भेटिएका छन्।

खन्जरी, झ्याप्सी, खोलेधोबिनी, डङ्ग्रेरूपी, छेपारेचरी, चिचिल्कोटे, गौंथली, फिस्टो तथा धेरै प्रजातिका जुरेलीले रारा राष्ट्रिय निकुञ्ज क्षेत्रमा गुँड लगाएर बसेका छन्। जुरेचरा, भारद्धव, बुंगेचरा, भगेरा, टिकटिके, लोकचरी, चित्रकचरी, तितुभंगेरा, महाठुँड तथा तितुका धेरै प्रजाति रारामा पाइन्छन्।

नेपालमा जम्मा आठ सय ८७ प्रजातिका चरा पाइन्छन्। यीमध्ये ६ सय प्रजातिले नेपालमै बच्चा कोरल्छन्। विश्वै दुर्लभ भइसकेका ३७ प्रजातिका चरा नेपालमा पाइन्छन्। नेपालमा पाइने चरामध्ये एक सय ४९ प्रजातिका चरा संकटमा छन्।

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top