बिजुक्छे निवासमा ओली र बिजुक्छेबीच भेटवार्ता

0 30

भक्तपुर, १४ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेबीच आज भेटवार्ता भएको छ ।

कमल विनायकस्थित नेमकिपा अध्यक्ष बिजुक्छे निवासमा डेढघन्टा भएको भेटवार्तामा वर्तमान राजनीतिक परिस्थितिका बारेमा कुराकानी भएको छ ।

भेटका क्रममा एमाले अध्यक्ष ओलीले देशमा संविधान बने पनि जनताले खुसीयाली मनाउन नपाएर कठिनाइको स्थितिमा धकेल्ने काम भएको बताउनुभयो ।

ओलीले भन्नुभयो, “देशमा सुरु भएको अर्को सङ्क्रमणकालले आमरुपमा नेपाली जनजीवन अस्तव्यस्त भएको छ, जनताले धेरै समस्या भोग्नु परेको छ, स्कूल बन्द हुने अवस्थामा पुगेको छ, अस्पतालमा डिजेल नहुँदा जेनेरेटर चलाउन नसक्ने अवस्था सिर्जना भएको छ ।”

यो अवस्थामा भर्खरै जारी भएको संविधान सहज रुपमा कसरी कार्यान्वयनमा ल्याउने, देशको जटिल परिस्थितिलाई कसरी समाधान गर्ने, भूकम्पले भत्काएको संरचनाको पुनःनिर्माण कसरी गर्ने र आधुनिक विकासमा देशलाई कसरी लैजाने भन्नेबारेमा बिजुक्छेसँग छलफल भएको ओलीले बताउनुभयो ।

भेटपछि सञ्चारकर्मीलाई जानकारी दिँदै नेमकिपाका अध्यक्ष बिजुक्छेले वर्तमान असहज परिस्थितिका बारेमा ओलीसँग कुराकानी भएको बताउनुभयो ।

भेटमा नेमकिपाका तर्फबाट पार्टी सचिव सुनिल प्रजापति र विदेश विभाग प्रमुख प्रेम सुवाल पनि सहभागी हुनुहुन्थ्यो ।

भारतले नेपालको संविधानका विषयमा बोल्नै नहुने कुरा बोलेको भन्ने समीक्षा गर्दै एमाले अध्यक्ष ओलीले देशका लागि राखेको स्ट्यान्डबाट पछि नहट्नेबारेमा कुराकानी भएको उहाँले बताउनुभयो ।

मधेसी दलका कारण भारतलाई समस्या पारेको बताउँदै उहाँले ठूलो देशले सानो देशलाई गर्न नहुने काम भारतले गरेको निष्कर्षसमेत निकालेको उहाँको भनाइ छ ।

भारतले लगाएको अघोषित नाकाबन्दीका बारेमा विकल्प खोज्नुपर्नेबारेमा छलफल भएको उहाँले जानकारी दिनुभयो ।

चीनसँगको उत्तरी नाका खोलेर सामान ल्याउनुपर्ने कुरामा दुवै नेताको एउटै धारणा आएको बताउँदै उहाँले एमालेले आजैबाट तातोपानी नाका खुलाउन पहल गरेको जानकारी ओलीले दिएको बिजुक्छेले बताउनुभयो ।

नयाँ सरकार गठनका बारेमा भने दलबीच पहिला नै सहमति भइसकेको र ओलीकै नेतृत्वमा अब सरकार गठन हुने भएको बिजुक्छेले उल्लेख गर्नु भयो । सरकार गठनमा आफूलाई समर्थन गर्न ओलीले आग्रह गरेको बताउँदै बिजुक्छेले राम्रो काम गरे समर्थन गर्ने वचन दिएको बताउनुभयो ।