संविधानमा हस्ताक्षर गर्नेको कस्तो छ लैङ्गिक र समुदायगत अवस्था

0 2

 

काठमाडौँ, ११ असोज । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधानमा ३८३ पुरुष र ११४ महिलाले हस्ताक्षर गर्नुभएको छ ।

नयाँ संविधानलाई कतिपय वर्ग र समुदायले स्वामित्व ग्रहण नगरेको भन्ने गुनासो आइरहेको बेला संविधानलाई गहिरोसँग अध्ययन गर्दा त्यो कुरा गलत साबित भएको तथ्याङ्कले देखाएको छ ।

कुल ५९८ सभासद् रहेको संविधानसभामा संविधानको अन्तिम मस्यौदामा हस्ताक्षर गर्ने कुल ५३७ सभासद्मध्ये आदिवासी जनजातिको सङ्ख्या १६९ रहेको छ ।

त्यसैगरी चार मुसलमानसहित मधेसी समुदायका ९१ र २३ जना थारू सभासद्ले पनि संविधानमा दस्तखत गर्नुभएको छ । दलित समुदायका ३६ सभासद्समेत संविधान जारी गर्ने विषयलाई अनुमोदन गर्नुभएको थियो ।

तराई मधेसको आवाजलाई संविधानले सम्बोधन गरेको कुरा स्वयम् सभासद्को हस्ताक्षरले पुष्टि गरेको र समावेशी तथा समानुपातिक प्रतिनिधित्वलाई आत्मसात् गरिएको छ । प्रमुख तीन ठूला दल नेपाली काँग्रेस, नेकपा (एमाले), एकीकृत नेकपा (माओवादी)का आदिवासी, थारू, मधेसी जनजाति सभासद्ले संविधानमा हस्ताक्षर गरेर अपनत्व लिएका छन् ।

तराई मधेसबाट प्रतिनिधित्व गर्ने केही दलले संविधानमा आफूहरुको स्वामित्व नभएको भन्दै गुनासो गर्दै आएका छन् । नेपालको संविधान लैङ्गिक, जनजाति आदिवासी मैत्री देखिएको छ ।

यद्यपि संविधानमा देखिएका कतिपय कमी तथा कमजोरीलाई कार्यान्वयनको तहमा जाँदा संशोधनको प्रक्रियाबाट समेत समाधान गर्न सकिने भएकाले आन्दोलनरत दललाई वार्तामा बस्न सरकारले पटक–पटक आग्रह गर्दै आएको छ । संविधानलाई कुल सभासद्मध्ये ९१ प्रतिशतले अपनत्व ग्रहण गरेका छन् ।