आन्दोलनरत पक्षसित परिणाममुखी वार्ताका लागि उपराष्ट्रपतिको आह्वान

0 5

काठमाडौँ, ११ असोज । उपराष्ट्रपति परमानन्द झाले आन्दोलनरत पक्षसित सार्थक र परिणाममुखी वार्ता गरी समस्या समाधान गर्न सरकार र सरकार सम्बद्ध दललाई आग्रह गर्नुभएको छ ।

उपराष्ट्रपति झाले आज प्रेस विज्ञप्ति प्रकाशन गरी सरकारका तर्फबाट वार्ताको पहल गर्न र छलफल, संवाद र सहमतिका माध्यमबाट समाधान खोेज्न आग्रह गर्दै तराई मधेसमा आन्दोलनरत पक्षलाई वार्तामा आउन अनुरोध गर्नुभएको छ ।

आफ्ना जनप्रतिनिधिमार्फत संविधान बनाउने नेपाली जनताको चाहना बमोजिम बहुमतीय प्रक्रियाद्वारा नेपालको संविधान जारी भई कार्यान्वयनको अवस्था रहेको उल्लेख गर्दै संविधानसभामार्फत नयाँ संविधान आउनु सुखद कुरा हो भन्नुभएको छ ।

विज्ञप्तिमा उहाँले राज्यका सीमान्तकृत समुदायसित विगतमा भएका सहमति र सम्झौता तथा अन्तरिम संविधानमा संशोधनमार्फत गरिएका कतिपय व्यवस्थालाई बेवास्ता गर्न नहुने उल्लेख छ ।

पैँतालिस दिनदेखि तराई मधेसमा आन्दोलन भइरहेको जनाउँदै विज्ञप्तिमा भनिएको छ – “आन्दोलनकारी र सुरक्षाकर्मीसहित ४० जनाभन्दा बढीको मृत्यु भइसकेको छ भने सयौँको सङ्ख्यामा घाइते भई अस्पतालमा उपचार गराइरहेका छन् ।” तराई मधेसमा जारी आन्दोलनले स्थानीय जनजीवन अत्यन्त प्रभावित भइरहेको र त्यहाँका जनताले उठाएका जायज मागलाई सम्बोधन गर्न राज्यले ढिला गरेको आरोप उहाँले लगाउनुभएको छ ।

“ आन्दोलनरत पक्षको मागलाई सम्बोधन गर्न सत्तासीन दलहरुका तर्फबाट संविधान संशोधनको उपाय अवलम्बन गर्ने कुरा समेत प्रकाशमा आएको छ, विगतमा भएका अभ्यासले यसका विभिन्न उपायहरु अवलम्बन गर्न सकिन्छ तर यसका लागि राजनीतिक दलको इच्छा शक्ति चाहिन्छ” – विज्ञप्तिमा भनिएको छ ।

वर्तमान नेपालको संविधानको धारा ३०५ मा रहेको बाधा अड्काउ फुकाउने अधिकार प्रयोग गरी संविधानको बाधा अड्चन फुकाएर आन्दोलनरत पक्षको मागलाई सम्बोधन गर्न सकिने बताउँदै उहाँले राजनीतिक दल र आन्दोलनरत पक्षबीच सार्थक र परिणाममुखी वार्ता हुनुपर्नेमा जोड दिनुभएको छ ।