राष्ट्रियताका लागि साना छ दलको गठबन्धन

0 20

 

काठमाडौँ, १० असोज । राष्ट्रिय स्वाधीनताको पक्षमा एक ढिक्का भएर अघि बढ्न विभिन्न छ राजनीतिक दलले समावेशी समानुपातिक गठबन्धन नाम दिएर मोर्चा गठन गरेका छन् ।

नेपाली जनता दल, नेपाः राष्ट्रिय पार्टी, खुम्बुवान् राष्ट्रिय मोर्चा नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक नेपाल, दलित जनजाति पार्टी र मधेस समता पार्टीले राष्ट्रिय स्वाधीनताको प्रवद्र्धन गर्न गठबन्धन बनाएका हुन् ।

ती दलका सांसदहरुको आज सिंहदरबारमा बसेको बैठकले राष्ट्रिय स्वाधीनताको विषयलाई सशक्त रुपमा जनतासामु लैजाने निर्णय गरेको नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले जानकारी दिनुभयो ।

मुलुक सङ्कटमा परेका बेला साना ठूला सबै दल एक ढिक्का भएर राष्ट्रियताको पक्षमा उभिन आवश्यक भएको उहाँको भनाइ थियो । पछिल्लो दिन पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तुहरुको आयातमा देखिएको समस्यालाई उच्चस्तरीय समिति गठन गरी वार्ताको माध्यमबाट यथाशक्य छिटो समाधान गर्न सरकारलाई आग्रह गरिएको राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकका सांसद शिवलाल थापाले जानकारी दिनुभयो ।

तराई मधेसमा आन्दोलनकारी दलहरुले उठाउँदै आएका जायज मागलाई वार्तामार्फत सम्बोधन गर्न र प्रधानमन्त्री सुशील कोइरालाले तराईका विभिन्न जिल्लामा सुरु गर्नुभएको भ्रमणलाई निरन्तरता दिँदै घोषणा गरिएको दङ्गाग्रस्त क्षेत्र र निषेधाज्ञा हटाउनसमेत सरकार समक्ष माग गरिएको सांसद थापाको भनाइ छ ।

छ राजनीतिक दलका सातजना सांसद छन् । बैठकले नेपाली राजनीतिमा देखिँदै आएको प्रमुख तीन दलको राजनीतिक एकाधिकारलाई तोड्नुुपर्नेमा समेत जोड दिएको छ ।

बैठकपछि गठबन्धनआबद्ध नेपाली जनता दलका उपाध्यक्ष मुक्तिनाथ गौतमले मत प्रतिशत सीमालाई स्वीकार गर्ने र समावेशी तथा समानुपातिक सिद्धान्तलाई कार्यान्वयनमा लान पहल गर्ने निर्णय पनि लिइएको जानकारी दिनुभयो ।