0 3

Untitled-1तुलसीपुर (दाङ), १० असोज । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले असल छिमेकीले अर्को छिमेकी राष्ट्रमाथि अचानक पेट्रोलियम पदार्थलगायत अनेक वस्तु रोक्नु गलत भएको बताउनुभएको छ ।

रिपोर्टर्स क्लबले आज यहाँ गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले भारतले विज्ञप्ति जारी गरी नाकाबन्दी गरेको छैन भन्ने तर व्यवहारमा नाकाबन्दी गर्ने व्यवहार स्वीकार्य नभएको पनि बताउनुभयो ।

सरकार निर्माणको सवालमा अब धेरै ढिला नहुने उपाध्यक्ष ज्ञवालीको भनाइ थियो । उहाँले सुशील कोइराला प्रधानमन्त्री हुने क्रममा एमालेसँग भएको सहमतिअनुरुप राष्ट्रपति, सभामुखलगायत सबै पदको निर्वाचन गर्ने लिखित सहमति भएको स्मरण गराउँदै यो महिनाभित्रै नयाँ सरकार गठन प्रक्रिया टुङ्गिने पनि बताउनुभयो ।

संविधानका सवालमा उहाँले नयाँ संविधान विश्वकै लागि नमुनायोग्य र उदाहरणीय भएको पनि बताउनुभयो । उपाध्यक्ष ज्ञवालीले संविधानले थारु, मधेसी, दलितसम्बन्धी संवैधानिक आयोग गठन गरेकाले छुटेका कुरा थप्न सकिने बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले वार्तामा आउन मधेस केन्द्रित दललाई आग्रह गर्नुभयो । उहाँले सीमाङ्कनसम्बन्धी विज्ञको आयोगले काम गर्ने भएकाले अहिलेको अवस्थामा हेरफेर गर्न सकिने बताउनुभयो ।

एमाले उपाध्यक्ष ज्ञवाली र काँग्रेस नेता गिरीले दुवैले दाङलाई
क्षेत्र नं ५ को प्रादेशिक राजधानी बनाउन भूमिका निर्वाह गर्ने पनि बताउनुभएको छ ।